सनराइज बैंकको स्वास्थ्य योजनामा थप सुविधा

काठमाडौं – सनराइज बैंकले स्वास्थ्य योजनामा थप सुविधा ल्याएको छ । बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ ।

बैंकले स्वास्थ्य बिमाअन्र्तगत अस्पताल भर्ना र ओपीडी खर्च गरी एक लाख रुपैयाँसम्मको बिमा दिएको जनाएको छ । उक्त बिमा रकम वर्षमा तीनपटकसम्म गरी दाबी गर्न सकिने जनाइएको छ।

 

यस्तै, पाँच लाखसम्म दुर्घटना बिमा पनि दिइएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बिमा दिँदै आएकोमा यस वर्षदेखि नेपाललगायत भारतका ७० वटा अस्पताल तथा सिंगापुर र थाइल्यान्डका अस्पतालमा उपचार गराउँदाको खर्च समेत स्वास्थ्य योजनाअन्र्तगत दाबी गर्न सकिने जनाइएको छ ।

साथै, नारीलाई बचत गर्न उत्प्रेरणा र उनीहरूको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्यस्वरूप बैंकले नारी बचत खाता भएका महिलालाई पाँच लाखसम्मको घातक रोग खर्च दिने भएको छ । महिलामा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटुरोगलगायत १८ घातक रोगहरू यसले समेट्ने जनाइएको छ ।

महिलालाई प्रसूति खर्चस्वरूप १० हजार रुपैयाँसम्म पनि दिइने बैंकले जनाएको छ । उक्त प्रसूति खर्च भने सरकारी तथा अर्धसरकारी अस्पतालमा प्रसूति गराउँदा लिन सकिने बैंकले जनाएको छ ।