काठमाडौं – सुनको भाउ तोलाको एक लाख रुपैयाँबाट तल झरेको छ । गएको साता हालसम्मकै उच्च मूल्य कायम भएको सुनको भाउ पछिल्ला दिनमा निरन्तर घटिरहेको छ । बुधबार सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ कायम गरेको छ ।
मंगलबार तोलाको एक लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार तोलामा १२ सय रुपैयाँले गिरावट आएको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा १२ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गएको फागुन २५ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको थियो ।