एमालेको केन्द्रीय कमिटी चैत ९ र १० मा बस्दै

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ।

मंगलबार पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठकको मिति तय गरेको हो।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार चैत ७ गते पोलिटब्यूरो, ९ र १० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटी बैठक बस्नेछ।

बैठकले निर्वाचनमा उम्मेदवार छनोटको मापदण्डका विषयमासमेत निर्णय गरेको छ। एमालेले वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ।

विगतमा जस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने भएको छ।

त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टिकट केन्द्रबाट दिइने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्ने छन् । यस्तै बैठकले निर्वाचन र नीति अध्यायन प्रतिष्ठान विभाग गठन गरेको छ।