गण्डकीमा कर्णालीका भौतिक मन्त्रीको तारिफ, विकाससँगै कर्णालीको प्राकृतिक सौन्दर्य हेर्न आउन निम्तो

 

सुर्खेत – कर्णालीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले कर्णाली प्रदेश जल, जंगल र जडिबुटीसँगै प्राकृतिक सौन्दर्यमा धनी रहेको भन्दै सबैलाई कर्णाली हेर्न आउन निम्तो दिएका छन् । मंगलबार पोखरामा सम्पन्न अन्तर प्रादेशिक बैठकमा बोल्दै मन्त्री रोकायाले यस्तो बताएका हुन् ।

पूर्वाधार निर्माण र यातायात सेवा प्रवाहमा विद्यमान समस्या र समस्या समाधानको प्रयास सम्बन्धी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा सम्पन्न अन्तर प्रादेशिक बैठकमा मन्त्री रोकायाले कर्णाली प्रदेश जल, जंगल र जडिबुटीसँगै प्राकृतिक सौन्दर्यमा धनी रहेको दावी गरे ।

बैठकमा आफ्नो भनाइ राख्दै मन्त्री रोकायाले पछिल्लो समय कर्णाली प्रदेशले विकासमा फड्को मार्दै गरेको अवगत गराए ।

‘पोखरा जस्तै कर्णालीमा पनि रारा ताल, सेफोक्सुण्डो र कुपिण्डे जस्ता धेरै पर्यटक लोभ्याउने आकर्षणका पर्यटकिय स्थल छन् । यीनको संरक्षण र विकासका लागि हामी लागिपरेका छौं’ मन्त्री रोकायाले भने, ‘मेरो कार्यकालमा कर्णालीका सबै जिल्लामा कालोपत्रे सडक बन्ने छन् । सबै क्षेत्रमा भौतिक पूर्वाधारको अभाव हटाउनेछुँ । त्यसैले देशबासी सबैलाई एक पटक कर्णाली घुम्न आउन पनि निम्तो छ ।’

मन्त्री रोकायाले कर्णालीको विद्यमान विकासको अवस्थाबारे चर्चा गर्दै आगामी बर्षदेखि सबै समस्या समाधान हुदै जानेमा आवश्वासन व्यक्त गरे । गण्डकीको पोखारा जस्तै कर्णाली पर्यटकिय आकर्षणको दृष्टिले निकै अघि रहेको भन्दै कर्णालीको विकाससँगै प्राकृतिक सौन्दर्य हेर्न आउन उनले सबै प्रदेशका मन्त्रीहरुलाई निम्तो दिएका हुन् ।

साथै कर्णालीमा भौगोलिक कठिनाइका कारण विकासका गतिविधि तिब्र रुपमा संचालन गर्न समेत कठिनाइ रहेको उनले अवगत गराए । तर उपलब्ध जनशक्ति र स्रोतका आधारमा कर्णाली विकासमा आफु लागि परेको मन्त्री रोकायाले बताए ।

बैठकमा मन्त्री रोकायाले गरेको व्यवहारीक र यथार्थ सम्बोधन सुनेर उनको काम र राजनितिक यात्राबारे प्रशंसा गर्दै तारिफ र तालीले बैठक कक्ष गुन्जामान भएको मन्त्री रोकायाका प्रमुख स्वकिय सचिव अमर रोकायाले जानकारी दिए ।

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगाएत सात वटै प्रदेशमा भौतिक पूर्वाधार मन्त्री र उक्त मन्त्रालयका सचिवहरुको सहभागीता रहेको थियो । भने आआफ्नो प्रदेशको विकास र आगामी रणनितीबारे छलफल भएको थियो । साथै एक अर्को प्रदेशबिच मन्त्री र सचिवहरुले विकासका बारेमा अनुभव आदान प्रदान गरेका थिए ।