बुटवल- कोभिड १९ विरुद्धको मोर्चामा प्रदेशमै उदाहरणीय कार्य गर्दै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बुधबारबाट शुरु हुने सोह्र श्राद्ध भर्चुअल माध्यमबाट गर्न अनुरोध गरेको छ ।
समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गैरहेको अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्रश्राद्ध अर्थात् पितृपूजन कार्य वैकल्पिक तरिकाले गर्न नगरबासीलाई अपिल गरेको हाे ।
तिलोत्तमा नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको र संक्रमणबाट २ जनाको मृत्यु समेत भैसकेकोको अवस्थामा संक्रमणलाई थप फैलिन नदिन तिलोत्तमाले सोह्रश्राद्ध कार्यमा सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न वा वैकल्पिक विधि अपनाउन नगरबासीलाई अपिल गरेको नगरपालिकाले जनाएकाे छ । विभिन्न स्थानमा पुरोहितमा समेत कोरोना संक्रमण भेटिएको र सोह्र श्राद्धमा एक जना पुरोहित एक दिनमैं धेरै ठाउँ जाने प्रचलन रहेकोले सकेसम्म वैकल्पिक विधि अपनाउन भनिएको नगरपालिकाले जनाएको छ ।
प्रत्येक वर्ष आश्विन कृष्ण पितृ पक्षमा गरिने सोह्रश्राद्ध अर्थात् पितृपूजन यस वर्ष भदौ १७ गतेबाट सुरु हुँदैछ । नगरपालिकाले सूचना जारी गर्दै सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरू मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि सबैमा आग्रह गरेको छ ।
महामारीको समयमा पनि परम्परागत संस्कार, संस्कृति, धर्मको जगेर्ना गर्नु सबैको कर्तव्य रहेकोले तोकिएकैं तिथिमा गर्नुपर्ने सोह्रश्राद्ध कार्यमा यसपटक वैकल्पिक विधि अपनाउन सकिने विषयमा गुरु- पुरोहितले आफ्ना यजमानलाई समयमैं जानकारी गराउने, सोह्रश्राद्ध गर्नेले समेत आफ्ना गुरु-पुरोहितबाट जानकारी लिनुपर्ने नगरपालिकाले जनाएको छ ।
यस्तै नगरपालिकाले जन्म, न्वारन, व्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता कर्म पनि पारिवारिक रुपमा गर्न भनेको छ ।
महामारीको बेलामा स्वास्थ्य र जीवन नै महत्वपूर्ण भएकोले आफु सुरक्षित रहेर संस्कारहरु सम्पन्न गर्नु उपयुक्त भएको पुरोहितहरु बताउछन । तिलोत्तमा नगरपालिकामा जिल्लामै सबैभन्दा धेरै गुरुकूलहरु रहेको र यहाँबाट प्रविधिमैत्री युवा पुरोहितहरु तयार भएकोले वैकल्पिक उपायबाट सोह्र श्राद्ध लगायतका सस्कारहरु सम्पन्न गर्न कठिन नभएको दुर्गा वैदिक आश्रमका शिक्षक पण्डित मित्रलाल भण्डारी बताउछन् ।
हाल सम्म तिलोत्तमा नगरपालिकाले १४९५ जना नगरबासीको पिसिआर टेस्ट गराएको छ भने २७ जना नगरवासीले अन्यत्रबाट टेस्ट गराएका छन् । परिक्षण गराएकाहरु मध्ये हालसम्म ११८ जनाको पिसिआर पोजिटिभ देखिएको छ । कूल संक्रमित मध्ये ६० जना संक्रमण मुक्त भएर आइसोलेशनबाट घर फर्किएका छन् भने ५६जना आइसोलेशनमा रहेका छन् । २जना सक्रमितको मृत्यु भैसकेको छ भने ३ जनालाइ आइसोलेशन बाट अन्यत्र रिफर गरिएको छ।
कोरोनाको जोखिम कम नभएकोले तिलोत्तमा नगरपालिकाले भाद्र २० सम्म निषेधाज्ञा बढाएको प्रेस सल्लाहकार बिपी गौतमले बताए ।