युक्रेन हमलाको ११औँ दिन, अमेरिकालाई हतियार उपलब्ध गराउन जेलेन्स्कीको आग्रह


काठमाडौं – रुसले ११ औँ दिन पनि युक्रेनमाथिको आक्रमण जारी राखेको छ।

राजधानी किभको उत्तर–पश्चिमी सहर इरपिनमा लगातार बमबारी गरिरहेको छ। इरपिनमा रुसी सेनाले रातभरि नै गोलाबारी र बमवर्षा गरेको जनाइएको छ।

निरन्तरको गोलाबारीका बीचमा इरपिनका स्थानीयवासी सहर छोडेर भाग्ने प्रयास गरिरहेका छन्। यस क्षेत्रमा बम वर्षा गराउँदै रुसी सेनाको ठूलो डफ्फा राजधानी किभतर्फ अघि बढेको छ।

यस्तै मारियुपोल र भोल्नोभाखा सहरमा रुसी सेनाले गरेको युद्धबिराम आफैले उल्लंघन गरेको छ। सहर नियन्त्रणमा लिएपछि युद्धबिराम घोषणा गरेको रुसी सेनाले आधा घण्टा नबित्दै आवसीय भवनहरुमाथि रकेट र मिसाइल आक्रमण गरेको छ।

मारियुपोलका उपमेयर सग्रेई ओर्भोवले रुसी सेनाले निरन्तर बमबारी गरिरहेको बताए। उपमेयर ओर्भोभवले रुसी सैनिकको आक्रमणमा मारिएका कयौँ व्यक्तिको शवसमेत उठाउन नसकिएको जनाएका छन्। उनले रुसले सहर नै खरानी बनाएको बताएका छन्।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई हवाई निषेधित क्षेत्र बनाउन फेरि माग गरेका छन्। उनले भिडियोमार्फत् अमेरिकी कांग्रेसलाई सम्बोधन गर्दै थप हतियार उपलब्ध गराउन पनि आग्रह गरे। जेलेन्स्कीले मानवीय र सैन्य सहयोगका लागि अपिल गरे।

यसअघि नेटो सेना र युरोपेली संघसँग जेलेन्स्कीले रुसी आकाशलाई हवाई निषेधित क्षेत्र बनाउन आग्रह गरेका थिए। साथै उनले रुसी तेल खरिदमा पनि प्रतिबन्धको माग गरे।