प्रहरीको कुटाइबाट युवकको मृत्यु आरोपपछि छानविन समिति गठन

सुर्खेत – सुर्खेतमा प्रहरीको कुटाईबाट कालिकोटका एक युवकको मृत्यु आरोपपछि छानविन समिति गठन गरिएको छ ।

कालिकोट तिलागुफा नगरपालिकाका युवक कृष्ण हमालको प्रहरीको कुटाईबाट मृत्यु भएको भन्दै आफन्ले विरोध प्रर्दशन गरेपछि वीरेन्द्रनगर तनावग्रस्त छ ।

तनावग्रस्त स्थितीलाई समाधान गर्न तथा घटनाको सत्यतथ्य छानविन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले ४ सदस्सीय छानविन समिति गठन गरेको हो ।

प्रशासनले एक अपिल जारी गर्दै घटनाबारे सत्यतथ्य छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा ४ सदस्सीय छानविन समिति गठन गरेको जनाएको छ । भने छानविन समितिलाई तीन दिनभित्र घटनाको सत्यतथ्य प्रतिवेदन पेश गर्ने गर्न निर्देशन दिइएको छ ।

शुक्रबार नेपालगंजबाट जुम्लाका लागि छुटेको भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुर्खेत स्थित सुब्बाकुना प्रहरीले राती निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएपछि सोही कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

हमाललाई उपचारको लागि आज विहान सुर्खेत अस्पताल ल्याएपनि अस्पताल नपुर्याउँदै उनको मृत्यु भइसकेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रहरीलाई लगाएको आरोप सत्य हो या होइन र के कति कारणले हमालको मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको सुर्खेत प्रहरीका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । साथै आफन्तको विरोध प्रर्दशन उग्र भएपछि सम्भावित हुनसक्ने घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन व्यापक बनाइएको छ ।