काठमाडौं – माघमा पहिलो संक्रमित भेटिएयताकै सबैभन्दा धैरै १२ सय २१ जना संक्रमित पछिल्लो २४ घण्टामा भेटिएका छन्। अहिलेसम्मकै उच्च संक्रमित भेटिएकै दिन देशका ११ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा उकालो लागेको हो। समुदायमा संक्रमण फैलिएसँगै संक्रमितहरु शून्य भएका जिल्ला पनि ह्वात्तै घटेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार हुम्ला र मुस्ताङमा मात्रै पछिल्लो पटक एकजना पनि संक्रमित छैनन्। मन्त्रालयका अनुसार पछिल्लो पटक देशकै सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाडौं जिल्लामा छन्।
अहिलेसम्म काठमाडौंमा संक्रमितको संख्या ३९ सय ६० पुगिसकेको छ। जसमा करिब ३ हजारको संख्यामा सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी समुदायमा कोरोना फैलिएको मोरङमा संक्रमितको संख्या १५ सय ६४ छ। त्यहाँ पनि सक्रिय संक्रमितको संख्या ५ सयभन्दा धेरै छ। अर्कातिर प्रदेश २ को राजधानी रहेको धनुषामा जम्मा संक्रमितको सख्या १५ सय २३ छ।
यहाँ पनि सक्रिय संक्रमित ५ सयभन्दा माथि छन्। त्यसैगरी पर्सामा अहिलेसम्म जम्मा संक्रमित २२ सय ६२ पुगेका छन्। गौतमका अनुसार पर्सामा पनि उपचार जारी रहेका संक्रमित ५ सयभन्दा धेरै छन्। उता बारामा जम्मा संक्रमित ८९१ पुग्दा सक्रिय संक्रमित पनि ५ सयभन्दा माथि छन्।
त्यसैगरी रौतहटमा १८ सय ५५ जना संक्रमित भेटिँदा हाल उपचाररतको संख्या पनि ५ सयमाथि छ। महोत्तरीमा पनि संक्रमितको संख्या १२ सय ५३ पुगेको छ। त्यहाँ पनि सक्रिय संक्रमित ५ सयमाथि छन्। सर्लाहीमा अहिलेसम्म संक्रमित १६ सय ९४ जना पुगेका छन्।
तर पछिल्लो समय संक्रमण समुदायमा फैलिन पुग्दा त्यहाँ पनि सक्रिय संक्रमितको संख्या ५ सयमाथि छ। यता बागमती प्रदेशको ललितपुरमा पनि संक्रमितको संख्या बढ्दै छ। यहाँ पनि संक्रमितको संख्या ६ सय ६ पुगिसकेको छ।
यस्तोमा सक्रिय संक्रमित नै ५ सयमाथि छन्। बागमतीकै चितवनमा पनि विस्तारै संक्रमित बढेर जम्मा संख्या ५ सय ८० पुगेको छ। यहाँ अधिकांश संक्रमित उपचारका क्रममा छन्। उता रुपन्देहीमा पनि संक्रमितको संख्या उकालो लाग्दै ९ सय ८० पुगिसकेको छ। यहाँ आधाभन्दा धेरै संक्रमित अहिले पनि उपचाररत रहेको प्रवक्ता गौतमले बताएका छन्।