काठमाडौं – जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले आइतबार उनको देशमा लामो समयदेखि जारी एक प्र्रतिबन्धलाई तोड्नुपर्ने बेला आएको र परमाणु हतियारमाथि सक्रिय बहस सुरु गर्नुपर्ने समय आएको बताएका छन् ।
आबेले नेटोजस्तै सम्भावित ‘न्यूक्लिर–शेयरिङ’ प्रोग्रामको कुरा गरेका छन् । युक्रेनमाथि रुसी हमलाबीच आबेको यो टिप्पणी निकै महत्वपूर्ण मानिँदैछ ।
आबेले टिभी प्रोग्राममा भने, ‘जापानले परमाणु अप्रसार सन्धिमा हस्ताक्षर गरेको छ र यसमा तीन गैर–परमाणु सिद्धान्त छन् । तर संसारलाई सुरक्षित कसरी गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गर्नका लागि केही प्रतिबन्ध लगाइएको छैन ।’
आबेले सन् २०२० मा प्रधानमन्त्री पद छोडेका थिए तर सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अहिले पनि निकै सक्रिय छन् । जापान टाइम्सका अनुसार युक्रेनले सोभियत युनियनबाट अलग्गिने बेला सुरक्षाको प्रत्याभूतिका लागि केही परमाणु हतियार राखेको भए सायद उसले रुसी हमलाको सामना गर्नुपर्ने हुने थिएन भनेर आबेले बताएका छन् ।
आबेले भने, ‘सरकारले लगातार भन्दै आएको छ कि एशियाको सुरक्षाको वातावरण लगातार खराब भइरहेको छ । यसमा चीनको बढ्दो आक्रामक र उत्तर कोरियाको परमाणु कार्यक्रम पनि समावेश छन् । जापानले ती खतरालाई कसरी कम गर्न सक्छ भनेर नेटोको न्यूक्लियर–शेयररिङ व्यवस्था एउटा उदाहरण हो ।’
नेटोको झैँ व्यवस्था
आबेले फुजी टेलिभिजनमा प्रसारित कार्यक्रममा भने, ‘जापानले पनि विभिन्न विकल्पमा विचार गर्नुपर्छ । यसमा न्यूक्लियर शेयरिङ प्रोग्राम पनि समावेश छ । ’ नेटो अन्तर्गत अमेरिका युरोपमा परमाणु हतियार राख्छ । जापान दोस्रो विश्वयुद्धका बेला परमाणु हमलाको त्रासदी झेलिसकेको छ ।
जापानका तीन गैर–परमाणु सिद्धान्त छन् । पहिलो पटक यसलाई सन् १९६७ मा निर्धारित गरियो । यसअन्तर्गत देशभित्र परमाणु हतियारको उत्पादन र त्यो राख्न प्रतिबन्ध छ । जापानका जनता पनि परमाणु हतियारविरुद्ध छन् । तर आबेले नेटोको लाइनमा साझेदारी गर्ने विकल्पबारे कुरा गरेका छन् । आबेले जापानभित्र धेरैजना मानिस यो व्यवस्थाबारे अनजान छन् भनेका छन् ।
आबेले भने, ‘परमाणु हतियार नष्ट गर्ने लक्ष्य महत्वपूर्ण छ तर जब जापानका जनताको ज्यान र मुदुलाई बचाउनेको कुरा आउँछ तब म सोच्छु कि हामीले थुप्रै विकल्पबारे कुराकानी गर्नुपर्छ ।’
वासिङ्टनमा सेन्टर फर अमेरिकन प्रोग्रामका सिनियर फेलो र शिन्जो आबेको जीवनी लेख्ने तोबिअस ह्यरिसले भने, ‘पूर्व प्रधानमन्त्रीको यो बयानले जापानका वर्तमान प्रधानमन्त्री फुमिओ किशिदामाथि दबाब बढेको छ । पार्टीका दक्षिणपन्थी खेमा उनीमाथि जापानको राष्ट्रिय सुरक्षा रणनीति र रक्षासँग जोडिएका अन्य मामिलाको समीक्षाका लागि भन्नेछन् ।’
उनले ट्वीटरमा लेखेका छन्, ‘अहिले बहस होस् वा नहोस् तर पछिल्लो ५–१० वर्षमा जापानमा आणविक हतियारको विकल्पबारे वार्ताको प्रतिबन्ध हटेको छ ।’
ताइवानमाथि अमेरिकाले के गर्ला ?
छिमेकी ताइवानमा हमलाको स्थितिमा अमेरिकाको धारणा के होला रु के अमेरिकाले उसको रक्षा गर्नेछ रु यसबारे आबेले भने, ‘अमेरिकाले हस्तक्षेप गर्न सक्छ है भनेर देखाउँदा चीन नियन्त्रणमा रहन्छ । तर हस्तक्षेप गर्ने सम्भावनालाई छोड्ने हो भने ताइवानको सेनाका लागि मुश्किल स्थिति हुनेछ । अब यसको विषयमा आशंकायुक्त नीति छोडिदिनुपर्ने समय आएको छ । ताइवानका जनता हाम्रो साझा मूल्यका हिस्सा हुन् । अमेरिका यो मामिलामा स्पष्ट हुनुपर्छ भन्ने कुरा म सोच्छु । ’
आबेले भने, ‘यदि चीन ताइवानमाथि हमला गर्छ भने जापानका लागि पनि संकट आउनेछ । ताइवानभन्दा ११० किलोमिटरको दुरीमा योनाष्ुनीको ओकिनावन द्वीप छ । यदि चीन हमला गर्छ भने उसले सुरुमा समुद्र र हवाई क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिनेछ र यसको चपेटामा जापानी जलका साथै हवाई क्षेत्र पनि पर्नेछ ।’
चीनले ताइवानलाई महत्वपूर्ण मुद्दा बताउँछ र आवश्यक परेको खण्डमा यसले आफूमा सम्मिलत गर्ने पनि बताउँदै आएको छ । हालैका वर्षमा ताइवानको विषयमा चीनको सैन्य गतिविधि पनि बढेको छ । अमेरिका सन् १९७९ देखि नै एक चीन नीति मान्दै आएको छ । अमेरिकाले आधिकारिक रुपमा ताइपेईको साटो बेइजिङलाई मान्यता दिन्छ ।
जापानको ताइवानसँग औपचारिक कुटनीतिक सम्बन्ध छैन र चीन नरिसाओस् भनेर पारम्परिक रुपमा जापान यो मुद्दामा चुप नै बस्छ । जापानका लागि चीन सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । युक्रेनमा रुसको हमलाबीच आबेको बयान निकै महत्वपूर्ण मानिँदै छ । युक्रेनमाथि रुसको हमलाबीच ताइवानमाथि चीनको डर पनि बढेको छ । रुसको हमला सफल रहे चीनलाई ताइवानको मामिलामा बल मिल्ने बताइन्छ ।
चिनियाँ मिडियाको प्रतिक्रियाः
आबेको यो बयानमा चीनको सत्ताधारी कम्युनिष्टि पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले आज अर्थात् २८ फेब्रुअरीमा सम्पादकीय लेखेको छ । आफ्नो सम्पादकीयमा ग्लोबल टाइम्सले लेखेको छ, ‘जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले आइतबार भनेको छ कि जापानले परमाणु हतियार साझा गर्नका लागि अमेरिकासँग सम्झौता गर्नुपर्छ भनिरहेको छ । उनले यो विषयमा नेटो देशबीच परमाणु हतियार साझा गर्ने व्यवस्थाको पनि उदाहरण दिएका छन् ।’
ग्लोबल टाइम्सले लेखेको छ, ‘आबेको बयानले स्पष्ट बताउँछ कि उनी परमाणु हतियारतर्फ अघि बढ्न चाहन्छन् । आबेको बयानको मात्रै यहाँ कुरा भइरहेको होइन । लामो समयदेखि जापानका दक्षिणपन्थी नेताले यस्तो प्रकारको कुरा गरिरहेका छन् । आबे आफैंले यस्तो कुरा भनेका हुन् । जापानका विपक्षी नेता इचिरो ओजावाले पनि जापान रातारात चीनलाई रोक्नका लागि ठूलो संख्यामा परमाणु हतियार बनाउन सक्छ भनेका थिए ।’
ग्लोबल टाइम्सले लेखेको छ, ‘जापानसँग परमाणु हतियार तयार गर्ने क्षमता छ । जापान संसारको सबैभन्दा औद्योगीकृत देशमध्ये एक हो । जापानी मिडियोमा छापिएको रिपोर्ट अनुसार जापानसँग देशभित्र र बाहिर ४७ टन प्लुटोनियम हो । यस्तोमा जापान ६ हजार परमाणु बम बनाउन सक्छ । सन् २०१६ मा जब जो बाइडेन अमेरिकाका उपराष्ट्रपति थिए तब उनले जापान रातारात परमाणु हतियार हासिल गर्ने क्षमता राख्ने कुरा बताएका थिए ।’
बीबीसी