अभिनेता पल शाहविरूद्ध नवलपुरमा अर्को उजुरी

काठमाडौं – बलात्कारको आरोप लागेर प्रहरी नियन्त्रणमा रहेका अभिनेता पल शाहविरूद्ध पीडित गायिकाले नवलपुर प्रहरीमा अर्को उजुरी दिएकी छन्। यो उजुरी गैंडाकोट इलाका प्रहरी कार्यालयमा दर्ता गरिएको स्रोतले बताएको छ।

स्रोतका अनुसार पल शाहले पीडित गायिकालाई गैंडाकोटको एक रिसोर्टमा सुटिङको क्रममा बलात्कार गरेको आरोप उजुरीमा उल्लेख छ। यसअघि शाहविरूद्ध तनहुँ प्रहरीमा पनि पीडितले बलात्कारको उजुरी दिएकी थिइन्। त्यही उजुरीको आधारमा अहिले शाह प्रहरी नियन्त्रणमा छन्।

उनलाई एक नाबालिक गायिकामाथि बलात्कार गरेको आरोप लागेको छ। नाबालिका गायिकाले शाहविरूद्ध गत बुधबार तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। जाहेरी दर्तापछि शाहविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो।

शाहलाई खोज्न देशभरका प्रहरी युनिटलाई प्रहरीले सर्कुलर गरेको थियो। १७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्।

तर कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएकाे थियाे । कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पलविरूद्ध उजुरी गर्न आएकी थिइन्।

प्रहरीले त्यतिबेला सबैकुरा सुनेर्बुझेर जाहेरी पनि तयार गरिसकेको थियो। तर घटना तनहुँ जिल्लामा भएकाले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै उतै पठायो।

आफूकहाँ महिला, बालबालिकामाथि भएको बलात्कारसम्बन्धी घटना तत्काल दर्ता गरी क्षेत्राधिकार पुग्ने रहेनछ भने सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गरी पठाउने कानुनी व्यवस्था छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७ को उपदफा १ मा आफूकहाँ आएको कसुरसम्बन्धी सूचना अर्को प्रहरी कार्यालयको क्षेत्राधिकारभित्र पर्ने रहेछ भने उतै पठाउनुपर्ने उल्लेख छ। तर सोही दफाको उपदफा २ ले कसुर गर्ने व्यक्ति उम्कन सक्ने वा प्रमाण नष्ट गर्ने सम्भावना देखे तत्काल दर्ता गरी प्रारम्भिक अनुसन्धान समेत गरेर पठाइदिन सक्ने व्यवस्था गरेको छ।