सुर्खेत – निरुता केसी (नाम परिवर्तन) को विहे भएको अहिले २१ वर्ष पुग्यो । कालगतिले आमाको मृत्युपछि मात्रै ढिलै विहे गरेकी निरुताले हाल आफु सामाजिक न्यायबाट पीडित भएको महशुस गरेकि छन् ।
जसको मुख्य कारण हो । पुख्र्यौली सम्पतिमा दाजुभाईको मात्र भोगचलन हुनु । दौतरी साथिभाई सबैको विहे भईसकेपछि गाउँमा निरुताको विहेबारे अनेकन चर्चा पनि नभएको होइन । तर शैक्षिक रुपले साक्षर मात्रै निरुतालाई घरधन्दाले अरु दौतरी झै कलिलो उमेरै विहे गर्न दिएन ।
‘घरमा तीन दाजुभाई थिए । एउटा छोरी भएकाले आमाले मलाई निकै माया गर्नुहुन्थ्यो । तर विहेपछि छोरी अर्को घर जाने विषयले भने आमाको मन पिरोल्थ्यो’ निरुताले भनिन्, ‘मेरो विहेपछि बुढेसकालमा आफ्नो स्याहारसुसार राम्रो नहुने डरले आमाले मलाई आफैसँग बस्न भनिन् । र मैले पनि स्विकार्य ।’
बुधबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका अवसरमा निरुताले यसरी आफ्नो जिवन भोगाईबारे अनुभव सुनाएपछि सहभागी सबै मौन सुनिरहेका थिए ।
‘आमाले आफ्नो ज्युनीको रुपमा सुर्खेतमा तीन कठ्ठा जमिन राख्नुभएको थियो । उहाँको मृत्युपछि त्यो सबै दाजुभाईले बाँडे तर मेरो बारेमा सोचेनन्’ फेरी निरुताको बोल्नेक्रम अघि बढ्छ, ‘मेरी आमाको अन्तिम साससम्म उनको स्याहार सुसारमा मैले समय बिताए । अन्तिममा दाजुभाईले ज्युनी भनेर राखेको जग्गा बाँडीचुडि खाए । मेरोबारे केही सोचेनन् ।’
नेपालको संविधानले छोरीलाई पनि पैतृक सम्पतिमा समान अधिकारको व्यवस्था गरेको छ । तर समस्या निरुतालाई तव प¥र्यो जव उनको नागरिकतामा बुवाको ठाउँमा ससुराको नाम भयो । निरुता र उनका श्रीमान दुवै सामान्य साक्षर मात्र हुन् । उनीहरुले घुम्ती शिविर मार्फत नागरिकता बनाएका थिए । त्यसबेला बुवाको स्थानमा ससुराको नाम समावेश भएको उनीहरुलाई पत्तै भएन । सोहीकारण उनलाई पुख्र्यौली सम्पतिमा दावि गर्ने हक पनि रहेन ।
सम्पतिमा दावि गर्ने जनाएपछि यता दाजुभाईबाट पनि दवाव आयो । अन्ततः दाजुभाईले दिएको एक लाख रुपैयाँमै उनले चित्त बुझाइन् र पुख्र्यौली सम्पतीको आशा त्यागिन ।
राष्ट्रिय कृषक महासंघद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा निरुता जस्तै धेरै सहभागीले आफुहरु आफन्तबाटै अधिकारबाट बञ्चित हुनुपरेको बताएका हुन् । कार्यक्रममा सहभागी महिलाहरुले सामाजिक न्यायमा आफ्नो अवस्थाका बारेमा सवाल उठाउँदै कुनै न कुनै प्रकारको पीडा आफन्तबाटै सहनुपरेको बताएका थिए ।
सामाजिक न्यायबाट बञ्चित हुन परेको तथा आफन्तबाटै पीडित हुनुपरेको भोगाई तथा अनुभव पनि सुनाएका हुन् । समानताका सवालमा महिलालाई समाजले दिएको बोझ अझै नहटेको कार्यक्रममा सहभागी महिलाहरुले दावि गरे ।
कार्यक्रममा सुर्खेतको लेकवेशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाका २४ जना महिलाहरुको सहभागिता रहेको थियो । राष्ट्रिय कृषक महासंघका अभियान्ता धना जिसीले सहभागी महिलालाई अधिकार सम्वन्धि बनेका ऐन–कानुन तथा महिला नेतृत्व सम्वन्धि जानकारी दिएकी थिइन् ।