रुसले युक्रेनमा आक्रमणको तयारी गरेको अमेरिकाको आरोप

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा केही दिनभित्रै आक्रमणको तयारी गरेको दावी गर्नुभएको छ ।

रुसका पछिल्ला गतिविधिले आक्रमणको अन्तिम तयारी गरिएको पुष्टि भएको उहाँले बताउनुभएको हो । तर मस्कोले अमेरिकी आरोपमा कुनै सत्यता नभएको भन्दै आफ्ना सेनाले सीमामा सुरक्षा मात्र गरिरहेको दावी गरेकोछ ।

दुवै देशबीचको विवादका कारण युक्रेन र रुस समर्थकहरुबीच टकराव बढेको बताइएको छ । अमेरिका र रुसको विवादका कारण युक्रेनमा त्रास फैलिएको बताइएको छ । पश्चिमा मुलुकहरुले पनि दुई देशको विवादका कारण त्रास बढेको भन्दै समस्या समाधानका लागि वार्ता गर्न दुवै पक्षलाई आह्वान गरेका छन् ।

यता अमेरिकाले भने सुरक्षा परिषदको बैठकमा आफ्ना आरोपमा प्रमाणहरु पेश गर्न अस्विकार गरेको अलजजिराले उल्लेख गरेकोछ ।

यता रुसले भने अमेरिकी आरोपको खण्डन गर्दै युक्रेनमा आक्रमणको तयारी गरिएका भनिएका आफ्ना एक लाखभन्दा बढी सैनिक फिर्ता बोलाएको जनाएको छ । तर अमेरिकाले भने रुसले सीमामा थप सुरक्षा खडा गरेको दावी गर्दै आएकोछ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका गतिविधिले चिन्ता बढाएको बताउनुभएको छ ।