सुर्खेत – कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले सुर्खेतका अपांगता भएका व्यक्तिहरुसँग छलफल गरेका छन् ।
मंगलबार मन्त्रालयमा भेट्न पुगेका सुर्खेत अपांग समाजमा आवद्ध अपांगता भएका व्यक्तिहरुसँग मन्त्री रोकायाले छलफल गरेका हुन् । छलफलपछि मन्त्री रोकायाले आफुलाई भेट्न आएका सबै अपांगता भएका व्यक्तिहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
मन्त्रीसँगको भेटघाट तथा बधाइ कार्यक्रमपछि सुर्खेत अपांग समाजका अध्यक्ष मयाप्रसाद जैसीले ८ बुँदे ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा संविधानको भाग ३ धारा ३७ अनुसार आवासको हक अन्र्तगत आवासविहिन सबै अपांगता भएका व्यक्तिका लागि आवास निर्माण गरिदिनुपर्ने लगाएतमा माग राखिएका छन् ।
ज्ञापन पत्र बुझ्दै मन्त्री रोकायाले आफु भर्खर आएको र आवास निर्माणबारे थाहाँ नभएकाले सम्बन्धित निकाय तथा विज्ञहरुसँग छलफल गरी माग सुनुवाइको पहल गर्ने बताए ।
साथै अपांगता भएका व्यक्तिहरुले मन्त्रीबाट उल्टै दोसल्ला ओडाएर सम्मान पाएकोमा खुसी व्यक्त गर्दै मन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।