को हुन् मन्त्री रोकाया ? यस्तो छ राजनीतिक यात्रा !

जुम्ला सिँजा क्षेत्रका पदमबहादुर रोकाया कर्णाली प्रदेश प्रदेश क्षेत्र (ख) जुम्लाका निर्वाचित सांसद हुन्। संघीय व्यवस्था कार्यन्वयन संगै प्रदेश सांसदको रुपमा निर्वाचित रोकाया जुम्लाको प्रतिनिधित्व गर्दै कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री बनेका छन्। यसअघि रोकायालाई पटक पटक मन्त्री हुने अवसर नमिलेको होइन। कहिले पार्टी भित्रको गुटगत समस्या त कहिले नेताको मनभित्र बस्न नसक्दा मन्त्री हुन सकेनन्।

मन्त्री हुने रोकायाको धोको पुरा हुन सकेको थिएन। जेष्ठताका हैसियतमा कर्णाली प्रदेशसभाको पहिलो बैठकमा अध्यक्षता गरेका सांसद रोकाया लामो समय विधायन समितिमा रहेर काम गरे। उनी संधै जनताको हितको लागि अग्रसर भए। सांसद विकास कोषदेखि विकास योजना बाँडफाँडमा समानुपातिक हिसावले प्रस्तुत भए। विकासमा कसैलाई काखा र कसैलाई पाखा गरेनन्। मागको आधारमा भन्दा पनि आवश्यकताको आधारमा विकास बजेट विनियोजन गर्नुपर्छ भन्ने ध्याय राखे। फलस्वरुप उनले कर्णालीको भौतिक योजना तथा शहरी विकासमन्त्री बन्ने अवसर पाए।

तत्कालिन नेकपा एमालेबाट सांसदमा निर्वाचित रोकाया एमाले भित्रको फुट संगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादीमा समाहित भए। अहिले एकीकृत समाजबादीको केन्द्रीय सदस्य हुन्। जुम्ला जिल्लाको पार्टीको सह– इन्चार्ज पनि। मन्त्रालयको कार्यभार संम्हाल्दै रोकायाले समग्र कर्णालीको विकासका लागि एकाकार भएर लाग्ने प्रण गरे।

उनले भने,‘कर्णालीको भौतिक पुर्वाधारमा जोड दिनेछु। आफूले सकेजतिको काम गर्न तयार रहनेछु। जनता प्रति उत्तरदायी र कर्तव्य निर्वाह गर्दा इमान्दार भएर प्रस्तुत हुनेछु। जनताको हीतलाई सर्वोपरी ठान्नेछु।’सांसद रोकाया कनकासुन्दरी गाउँपालिका ५ रोकायाबाडामा आमा नानी रोकाया र बुबा दत्तबहादुर रोकायाको कोखबाट बिक्रम संवत २०१० असार १० गते जन्मिएका थिए।

उनले २०१० साल देखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा प्रारम्भ गरे। २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा उभिए। २०३९ सालमा पञ्चायत विरुद्धको अभियानमा जुटे। गाउँ पञ्चायतमा जनपक्षीय उम्मेदवारी प्रस्तुत गरे। युवा संगठनको सभापतिमा निर्वाचित भए। २०४४ सालमा उपप्रधानपञ्च निर्वाचित भए। पञ्चायत विरुद्धको अभियानलाई छोडेनन्। धेरै पटक राजनीतिक रुपमा जनसेवा गर्ने मौका पाइसकेका सांसद रोकायाले कहिले पनि व्यक्तिगत स्वार्थलाई सर्वोपरी ठानेन। बरु सामुहिक स्वार्थ प्राप्तिका लागि व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिए।

२०४६ सालमा सांसद रोकाया नेकपा मालेको संस्थापक सदस्यकारुपमा चुनिए। २०४७देखि २०४९ सम्म नेकपा एमालेको जिल्ला समिति सदस्यका रुपमा काम गरे। २०४९ देखि २०६६ सम्म जिल्ला सचिवालय सदस्य बने। २०६७ देखि २०७१ सम्म नेकपा एमाले जिल्ला समिति जुम्लाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भए। उनको जीवनकालमा राजनीतिमा निकै उतारचढाव आए। तर उनी कहिले थाकेनन। अहोरात्र खटिरहे। राजनीतिलाई जनताको सेवा गर्ने माध्यम बनाए।

२०६० सालमा जिल्ला विकास समितिको बोर्ड सदस्यमा रहेर काम गरे। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचन आयोगको बन्द सुचीमा एमालेको समानुपातिक उम्मेदवारका रुपमा छनौट भए। तर संविधानसभा सदस्य बन्ने धोको पुरा हुन सकेन।

२०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा उनी नेकपा एमालेबाट संविधानसभा सदस्यका लागि उम्मेदवार बने। नेपाली काँग्रेसका ललितजङग शाहीदेखि २५७ मतान्तरले पराजित भए। पार्टी भित्रको विश्वासघातले आफु पराजित भएको पटक पटक सुनाउँछन्। नेकपा एमाले र नेकपा माओबादी केन्द्र मिलेर वामगठबन्धन बन्यो। २०७४ सालको निर्वाचनमा प्रदेश क्षेत्र (ख) जुम्लाको उम्मेदवार बनेर चुनाव लडे। उनी बिजय बने। नेपाली काँग्रेसका उम्मेदवार भिमनिधि हमाललाई झण्डै दोब्बर मतले पराजित गर्न सफल भए। बर्षौ देखिको सांसद बन्ने धोको पुरा भयो।

साढे २ बर्ष कर्णाली प्रदेशसभा कानुन विधायन समितको सभापति भएर कार्य गरे। त्यसपछि कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिको सभापति बने। प्रमाणपत्र तह अध्ययन गरेका सांसद रोकाया सबैको प्यारो बन्न चाहन्छन। उनी कोरा भाषण भन्दा पनि कामलाई प्राथमिकता दिन्छन। मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा रहेको मन्त्रीपरिषदमा भौतिक पुर्वाधार तथा शहरी विकासमन्त्रीको जिम्मेवारी पाएका छन्। कर्णाली प्रदेशसभामा कर्णालीको भोकमरी,अशिक्षा,बेरोजगारी,पछौटेपनको अन्त्यको लागि आवाज बुलन्द गर्दै आएका सांसद रोकाया गृहजिल्लामा आइपुगेपछि सबै क्षेत्रमा घुमफिर गरेर फर्कन्छन्।

कसैलाई सानो ठुलो नभनेर बराबर सम्बन्ध राख्ने सांसद रोकाया कर्णाली प्रदेश सभामा मन्त्री नियुक्त भएपनि जुम्लाबासीमा खुसीयाली छाएको छ। कर्णाली प्रदेश सभामा जुम्लाका तीन जनाले प्रतिनिधित्व गर्छन। प्रदेश क्षेत्र (क)बाट निर्वाचित नेकपा माओबादी केन्द्रका नरेश भण्डारी,नेपाली काँग्रेसका समानुपातिक सांसद दीनबन्धु श्रेष्ठ र एकीकृत समाजवादीका प्रदेश क्षेत्र (ख)का पदमबहादुर रोकाया। काँगेसका श्रेष्ठ र माओबादी केन्द्रका सांसद नरेश भण्डारी मन्त्री भइसकेका छन। भण्डारी पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री र श्रेष्ठ पूर्व जलस्रोत तथा उर्जा विकासमन्त्री भइसकेका छन्। सांसद रोकाया यसपटक भौतिक पुर्वाधार तथा शहरी विकासमन्त्री बनेका छन्। जुम्लाबाट प्रतिनिधित्व गर्ने तीनै जना सांसद मन्त्री हुनु निकै सुखद भएको जुम्लाबासी बताउँछन्। – नागरिक