पञ्चायतमा उपप्रधानदेखि गणतन्त्रको मन्त्रीसम्म

सुर्खेत – जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ रोकायाबाडामा जन्मनु भएका पदमबहादुर रोकाया एक सक्रिय राजनीतिकर्मी हुन् ।

२०१० साल असार १० गते बुवा दत्तत्रहादुर र आमा नानी रोकायाको कोखबाट उनको दुर्गम गाउँमै जन्म भएको हो । बाल्यकालदेखि पढाईभन्दा राजनीति मोहमा बढि रुचि राख्दै आएका रोकाया पञ्चायतको उपप्रधानदेखि गणतन्त्रको मन्त्रीसम्म बनेका छन् ।

राजनीतिमा कहिल्य हार व्यहोर्दै त कहिल्य जित निकाल्दै अघि बढेका रोकाया यो यात्रामा कहिल्यै थाकेनन् । यही आँट र साहसका कारण रोकाया आइतबार कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा नियुक्त भएका छन् । उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्रीमा नियुक्त भएका हुन् ।

औपचारिक रुपमा २०३६ सालदेखि राजनीति यात्रा सुरु गरेका मन्त्री रोकायाले नेमकिपाबाट आफ्नो राजनैतिक यात्रा सुरु गरेका थिए ।

२०३८ सालमा गाउँ पञ्चायतमा युवा संगठनको सभापति समेत बन्न सफल भएका थिए । तर २०४४ को पञ्चायत चुनावमा पञ्चायत विरोध जनपक्ष उम्मेदवार भइ उनी उपप्रधानमा निर्वाचित भए ।

२०४७ मा नेकपा मालेको सदस्य बनेका रोकाया २०४७ मै नेकपा एमाले जिल्ला कमिटि सदस्य बने । एमाले जिल्ला कमिटिमा लगातार सचिवालय सदस्यहुदै २०६५ मा पाटी जिल्ला उपाध्यक्ष समेत बनेका थिए ।

२०६४ सालमा एमालेको तर्फबाट तत्कालिन जिविस बोर्ड सदस्य समेत बनेका थिए । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा उनी समानुपातिक उम्मेदवार भई बन्दसूचिमा परेका थिए ।

रोकाया दोस्रो संविधानसभा निर्वाचन २०७० मा पनि उम्मेदवार बनेका थिए । त्यसबेला उनी कांग्रेसका ललितजंग शाहीसंग पराजित भएका थिए ।

२०७४ सालको जुम्ला जिल्ला क्षेत्र नं ख बाट प्रत्यक्ष उम्मेदवार भइ नेपाली कांग्रेसका भिमनिधि हमाललाई दोब्बर मतले हराउँदै रोकाया विजयी भएका थिए । हाल कर्णाली प्रदेश सभा सदस्य समेत रहेका रोकाया नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य हुन् ।

मन्त्री बनेसँगै रोकायाले जुम्ला जिल्ला र कर्णाली प्रदेशको विकासमा आफु पछि नहट्ने बताए । स्रोत साधनले भ्याएसम्म कर्णालीको विकासमा लागिपर्ने उनको भनाइ छ । यो सामाग्रि नन्दराम जैसीले तयार पारेका हुन् ।