सुर्खेत – ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत कर्णालीको राजधानी सुर्खेतका ४६ ग्रामीण बस्तीमा विद्युतीकरण गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण सुर्खेतले ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत ११ केभिए प्रसारण लाइन विस्तारको कामलाई तीव्रता दिन लागेको हो ।
यसका लागि करिब ७ करोड रुपैयाँ बजेटसमेत विनियोजन भएको छ । नयाँ विस्तार हुने प्रसारण लाइनमा सुर्खेत सीमा जोडिएको बराहताल गाउँपालिका– ८ भट्टेघारीदेखि चेपाङसम्म, जनज्योति माध्यमिक विद्यालयदेखि गिद्धमारेसम्म रहेको छ ।
यस्तैगरी साजपानी, उँदोखोला, कुनाखेत, धुलिचौर र दमारसम्म लाइन विस्तार हुनेछ । जसका लागि एक करोड २५ लाख बजेट विनियोजन भएको छ । पञ्चपुरी नगरपालिकाको च्यूरीखेतदेखि हाँसेगाउँलाई पनि विद्युत पहुँचमा पु¥याइने छ । यसका लागि ८५ लाख रुपैयाँ छुट्याइएको छ ।
यस्तै ८५ लाखकै लागतमा पश्चिम सुर्खेतको विजौरादेखि लगामसम्म ११ केभिए लाइन तानिने छ । नयाँ विस्तार हुने लाइनमा भेरीगंगा नगरपालिकाका १९ र सिम्ता गाउँपालिकाका सात वटा ग्रामीण बस्ती समावेश गरिने जनाइएको छ ।
जसमा भेरीगंगाका दुई वटा आयोजनाका लागि एक करोड एक लाख र सिम्ता गाउँपालिमा विद्युतीकरण र ट्रान्सफर्मर निर्माणका लागि २५ लाख बजेट विनियोजन भएको छ । यसैगरी सदरमुकाम वीरेन्द्रनगरको अमृतडाँडादेखि देउतीबज्यै, ढोडेखाली नौलोकटेज र बुद्धबुद्धिमा पनि ११ केभीए नयाँ विद्युत लाइन विस्तार गरिने छ ।
यस क्षेत्रमा ट्रान्सफर्मर र लाइन विस्तारका लागि एक करोड १५ लाख रकम छुट्याइएको छ । यी क्षेत्रमा चालू आव २०७८र०७९ भित्रै विद्युतीकरण गरिसक्ने गरी ठेक्का अगाडि बढेको प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिनुभयो । यसका लागि सुर्खेत वितरण केन्द्रले आइतबार बोलपत्र आह्वानसमेत गरिसकेको छ ।