युरोपको सीमामा अमेरिकाले थप दुई हजार सेना पठाउँदै

काठमाडौं – युक्रेनमा रुसले आक्रमण गर्न सक्ने आशंकाकाबीच अमेरिकाले युरोपमा अतिरिक्त सैनिक पठाउने भएको छ।

राष्ट्रपति जो बाइडेनले यसै हप्ता थप सैनिक पठाउने निर्णय लिएको ह्वाइट हाउसले जनाएको छ। अमेरिकाले करिब दुई हजार थप सैनिक युरोपको सीमामा पठाउने तयारी गरेको हो। फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनीमा सेना पठाइने भएको हो।

यस्तै जर्मनीमा रहेको एक हजार अमेरिकी सैनिकलाई रोमानियामा परिचालन गर्ने तयारी गरिएको छ। रुसले सैनिक पठाउने अमेरिकी निर्णयलाई ‘विनाशकारी’ भनेको छ। युक्रेनको सीमामा १ लाखभन्दा बढी सैनिक परिचालन गरेको रुसले भने युक्रनेमाथि आक्रमणको आरोप अस्वीकार गर्दै आएको छ।

उसले युक्रेन नेटो गठबन्धनमा आबद्ध हुन नहुने बताउँदै आएको छ। रुसले सन् २०१४ मा युक्रेनको दक्षिणी क्राइमिया द्वीप कब्जा गरेको थियो। उक्त तनावका क्रममा झण्डै १४ हजार मानिसको मृत्यु भएको थियो।

त्यसको ८ वर्षपछि युक्रेनमाथि आक्रमणबारे चर्चा चुलिएको हो। रुसले युक्रेन सरकारमाथि मिन्स्क सम्झौता लागू नगरेको आरोप लगाएको छ। यी दुई देशबीच शान्ति स्थापनाका लागि मिन्स्क अन्तर्राष्ट्रिय सम्झौता भएको थियो।