काठमाडौं – राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा भोलि निर्वाचन हुँदैछ । ती पदमा ४३ जनाको उम्मेदवारी परेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर चुनावी मैदानमा रहेका छन् । उनीहरूले निर्वाचनका लागि पद बाँडफाँड गरिसकेका छन् ।
नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ । २० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेका तर्फबाट रिक्त हुँदै छ ।
निर्वाचन आयोगले ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य विभिन्न समूह गरी १९ सिटका लागि निर्वाचन गराउन लागेको हो ।
निर्वाचनका लागि सातै प्रदेशमा गरी ४३ जना उम्मेदवारको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ । जसमध्ये नेकपा (एमाले)बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी)बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाको उम्मेदवार छन् ।
गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार एमालेले जितेका ८ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १र१ सिट पाउने गरी भागबन्डा गरिसकेका छन् ।
१९ पद रिक्त हुँदा भएको भागबन्डामा कांग्रेसको भागमा ६ सिट, माओवादी केन्द्र र नेकपा एसले ५र५ सिट तथा जसपालाई २ र जनमोर्चालाई एक सिट परेको हो ।
५९ सदस्यीय हुने राष्ट्रिय सभामा हाल अध्यक्षसहित एमालेका २४, उपाध्यक्षसहित माओवादीका १४, कांग्रेसका सात, एकीकृत समाजवादीका सात, जसपाका दुई, लोकतान्त्रिक समाजवादीबाट एक, स्वतन्त्र एक र मनोनित तीन जना सदस्य छन् ।
निर्वाचनमा स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता कायम भएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।