प्रदेश २ मा कोरोना पुष्टि भएका २ सयजना सम्पर्कबिहिन

जनकपुर– प्रदेश २ का करिव २ सय जना कोरोना संक्रमित सम्पर्कबिहिन भएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसीआर परीक्षण गराएका मध्ये २ सय जना संक्रमित स्थानीय प्रशासनको सम्पर्कमै नरहेको खुलासा भएको छ ।

पिसीआर परीक्षणका बेला लेखाएको ठेगाना र सम्पर्क नम्बरमा उनीहरू फेला नपरेको स्थानीय प्रशासनले जनाएको छ । संक्रमितहरू लुकिछिपी बस्ने प्रवृत्ति देखिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए ।

‘स्वाब संकलन गर्दा कसैले गलत नम्बर दिएका हुन्छन् भने कसैले ठेगानै उल्लेख गर्दैनन् । यस्तो प्रवृत्तिले गर्दा पिसीआर पोजिटिभ आयो भने संक्रमित खोज्न गाह्रो भएको छ’, झाले भने, ‘स्वाब संकलन गर्न जाने क्रममा पनि गलत ठेगानाका कारण बिरामीलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्न समस्या भएको छ ।’

संक्रमितहरु लुकिछिपी बसेकाले खोज्न समस्या परेकोे धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले वताए । संक्रमित भएर परिवार समाजमा बस्दा महामारी अझ फैलिने जोखिम भएको हुँदा त्यस्ता व्यक्तिहरुलाई खोजी कार्य भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । स्राेत :  हेल्थ आवाज ।