जनकपुर– बारामा गर्भवती महिलाको कोरोना संक्रमणका कारण मृत्यु एको छ । बारा हर्दियाकी २३ वर्षीया गर्भवती महिलाको नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरासियाले बताए । चौरासियाका अनुसार मृत्युु भएकी महिला ३३ हप्ताकी गर्भवती थिइन् ।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नारायणी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममै महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । यस्तै, नारायणी अस्पतालमै आज पर्साका दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
पर्साको वीरगन्ज महानगरपालिका–१४ बहुअरी निवासी ६२ वर्षीय पुरुषको आज नारायणी कोरोना अस्थायी विशेष अस्पतालमा मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी रहेका थिए । उनलाई ३० साउनमा कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
यसैगरी, बुधबार साँझ पर्साको धोबनी गाउँपालिका–३ गुलरिया निवासी ७२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा उनको बुधबार राति मृत्यु भएको हो ।
ज्वरोका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई भदौ ८ गते नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । त्यहिदिन उनको स्वाब संकलन गरी पिसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । स्राेत :हेल्थ आवाज ।