सुर्खेत – सुर्खेतमा ‘स्मार्ट लकडाउन’ गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले १२ बुुँदे स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी आदेश जारी गर्दै ‘स्मार्ट लकडाउन’ घोषणा गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवं गृह मन्त्रालयको निर्णय बमोजिम आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । प्रशासनले एक विज्ञप्तिमार्फत अर्को सूचना नभएसम्म शनिबार राति १२ बजेदेखि जिल्लाभर लागू हुने गरी ‘स्मार्ट लकडाउन’ गरेको छ ।
कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाक, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन उक्त आदेश जारी गरिएको हो ।
पछिल्लो समय कर्णाली प्रदेश राजधानी सुर्खेतमा कोरोना संक्रमणको दर तीव्ररुपमा बढेपछि जिल्ला प्रशासनले कडाइ गर्न थालेको छ । सोही अनुसार जिल्लामा कोरोना संक्रमण तीब्ररुपमा फैलिन नदिन १२ बुुँदे स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी आदेश जारी गरिएको हो ।
आवश्यक कार्यक्रम सञ्चालन गर्नुपरे प्रशासनको अनुमति लिनुपर्नेछ । भने माघ १५ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने छन् । पूर्वनिर्धारित परीक्षाहरू भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छ ।
के गर्ने ? के नगर्ने ?
जारी आदेशको पालना नगरेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने सुर्खेत प्रशासनले जनाएको छ । आदेशअनुसार २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने र खोप कार्ड मोबाइलमा फोटो भएपनि मान्य हुने उल्लेख छ ।
साथै प्रशासनले आदेशको पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित अनुगमन गर्ने बताएको छ । जारी आदेश अनुसार सार्वजनिक सवारीले स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । सबै यात्रुहरुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ ।
मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइजर गर्नुपर्नेछ ।
जिल्ला भित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीयहरूले विगतमा संचालन गरेका एमबुलेन्स, कोभिड १९ उपचार केन्द्र तथा आइसोलेशन केन्द्रलाई सुदृढगरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने आदेशमा उल्लेख छ ।
अक्सिजनको आपूर्ति सहज बनाउन कोरोनाको दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिण्डरहरू यथाशिघ्र सम्बन्धित उद्योग, अस्पताल स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा हस्तान्तण गर्ने पनि आदेशमा उल्लेख छ ।