सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी टोलमा बस्दै आएका एकैघरका ४ जनाको रहस्यमय मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएकी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट रहेका छन् ।
उनीहरुको शनिबार घरको एउटै कोठाभित्र रहस्यमय मृत्यढु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार चारै जना एउटै कोठाभित्र मृत अवस्थामा भेटिएका हुन् ।
शनिबार बेलुका सूचना पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । तर प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।
स्थानीयले एउटै कोठाभित्रै एकैघरका चार जनाको मृत्यु रहस्मय भएको भन्दै आलोचना गरिहेका छन् । तर प्रहरीले कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरुको निस्सासिएर मृत्यु भएको अनुमान गरेको छ ।
मृतकका आफन्तहरु नआएका कारण हाल चारै जनाको शव परीक्षण हुन सकेको छैन । प्रहरीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट पुग्ने बित्तिकै शव पोष्टमार्टम गरिनेछ ।