काठमाडौं – आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । बिक्रम संवत १९९० साल आजको दिन विनाशकारी भूकम्प गएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
यस पटक ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको छ । भूकम्पले नभई कमजोर संरचनाले क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो ।
विसं २०५५ देखि २ माघलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । दिवसका अवसरमा मूल समारोह समितिले आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा निश्चित मानिस मात्र भौतिकरूपमा उपस्थित हुने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
कार्यक्रममा गृह मन्त्रालय, विभाग, ललितपुर महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ९एनसेट०लगायत संस्थाका सङ्ख्या तोकिएका जनशक्तिमात्र जम्मा भएर अरुलाई भर्चुअल माध्यमबाट चेतना जगाउने गरी कार्यक्रमको स्वरुप परिवर्तन गरिएको छ । कोरोना भाइरसको नयाँ स्वरुपका कारण कार्यक्रमको स्वरुप परिवर्तन गर्न बाध्य हुनुपरेको मूल समारोह समितिले जनाएको छ ।
यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको समेत भर्चुअल माध्यमबाटै आयोजना गरिने जनाइएको छ । दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन् ।
यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रमदूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिने जनाइएको छ । भूकम्पपछिको पुनःनिर्माण भूकम्प प्रतिरोधी भएकाले सुरक्षित रहेको जनाइएको छ ।
पश्चिम नेपालमा ५०० वर्षदेखि ठूला भूकम्प नगएकाले शक्ति सञ्चय भई बसेको विभिन्न अध्ययनले देखाएको छ । भविष्यमा आउनसक्ने भूकम्पले त्यहाँ ठूला क्षति हुनसक्ने विज्ञको अध्ययनबाट देखिएकाले त्यस क्षेत्रमा जनचेतना फैलाउने कामलाई विभागलगायत सरोकार भएका निकायले प्राथमिकतामा राखेका छन् ।
दाङबाट पश्चिमका जिल्लामा अहिलेदेखि नै भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि विभागले चेतना जगाउने अभियान सुरु गरेको छ । यसका लागि त्यहाँका स्थानीय सरकारसँग पनि सहकार्य गरिएको जनाईएको छ ।