कर्णाली सरकारले गठबन्धन टिकाउन झ्यालभ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेकोछ : कँडेल

सुर्खेत – कर्णाली सरकारले गठबन्धन टिकाउन झ्यालभ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलको आरोप छ । बुधबार कर्णाली प्रदेशसभाको नवौं संसद अधिवेशनमा बोल्दै उनले गठबन्धन टिकाउन व्यक्तिका घरको झ्यालभ्यालमा मन्त्रालयको साइनबोड टाँसेको आरोप लगाएका हुन् ।

राज्यको साधान स्रोत र सम्पतिको दुरुपयोग गरी गठबन्धन टिकाउने बाटोमा हिडेको कर्णाली सरकारले गठबन्धन टिकाउनकै लागि झ्यालभ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको उनले आरोप लगाए ।

‘यहाँ मान्छे र गठबन्धन टिकाउन झ्यालभ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको दृष्य देखिन्छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले हिक्मतका साथ थोरै तीन मन्त्रालय मात्रै बनाएर सरकार चलाउनुभएको छ’ उनले भने, ‘यस्तै गरी सरकार चलाइराख्नु शुभकामना छ । थोरै मन्त्री भए कमसेकम पैंसा त बच्छ ।’

कर्णाली सरकारले डल्लो बजेटका नाममा एउटै जिल्लामा दुई सय वटासम्म टुक्रे योजना पारेर विकासका नाममा भ्रष्टाचार बढाएको कँडेलले तर्क गरे । चार÷पाँच लाखका टुक्रे योजना बनाएर समाज भन्दा घरमुखि बनाइएको उनले दावी गरे ।

‘त्यस्ता व्यक्तिमुखि योजना प्रदेशभर के कति छन् ? जानकारी चाहियो । नियमित काम गर्नुपर्ने योजनाको बजेट कटौती गरेर सरकारले भ्रणपोषणका योजनालाई प्राथमिकता दिएको छ’ उनले भने, ‘सरकार अभिलेखमा छ । व्यवहारमा छैन । व्यवहारमा आए एमालेको पनि साथ छ ।’