जनप्रतिनिधिको भ्रमण मोह : कार्यकाल सकिनै लाग्दा अवलोकन भ्रमण


जुम्ला – स्थानीय तहका जनप्रतिनिधिको कार्यअवधि सकिन अब बढीमा ३ महिनामात्रै बाँकी छ । २०७४ सालमा निर्वाचित भएयता आगामी वैशाखसम्म देशका ७ सय ५४ वटै स्थानीय तहका प्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिँदै छ । यस बीचमा जनप्रतिनिधिले संघ र प्रदेशबाट प्राप्त बजेटअनुसार गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिँचाइ र पूर्वाधार क्षेत्रका आधारभूत विकास गरे ।

साथै जुम्लाका आठ स्थानीय तहका जनप्रतिनिधि विभिन्न समयमा बाहिरी जिल्लामा अवलोकन भ्रमणमा गए । जसमा तातोपानी र तिला गाउँपालिकाका अध्यक्षले छिमेकी राष्ट चीनसमेत भ्रमण गरे । नमुना कामको अनुसरण गरेर आफ्नो ठाउँको विकास गर्ने लक्ष्यअनुसार विगतमा भएका भ्रमणले जुम्लाको विकास निर्माणदेखि सेवा प्रवाहमा कुनै फेरबदल देखिएन ।

भ्रमणको लक्ष्यअनुसार जुम्लाका कुनै स्थानीय तहमा नयाँ मोडलको विकास पनि भएको छैन । स्थानीय तहका जनप्रतिनिधिले भ्रमणमा गएर आफ्नो गाउँठाउँमा सुधार ल्याएको जुम्लामा एक उदाहरणसम्म छैन । तर उपलब्धिविहीन भ्रमणमा लाखौं बजेट खर्च गर्नुभन्दा गाउँको विकासमै लगानी बढाउन आवश्यक भए पनि जनप्रतिनिधिको भ्रमण मोह अन्त्य भएको छैन । यसैबीच जुम्ला कनकासुन्दरी गाउँपालिकाका जनप्रतिनिधि कार्यकाल सकिनै लाग्दा गाउँपालिकाको विकासका लागि भ्रमण अवलोकनमा निस्किएका छन् । करिब सात दिने भ्रमणका लागि कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावत, उपाध्यक्ष उर्मिला भण्डारी, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुखसहितको २० जनाको टोली पूर्वी नेपालको भ्रमणमा गएको छ ।

पूर्वमा रहेका पालिकाले गरेका राम्रा कामका अनुभव आदान प्रदान गर्ने, नमुना पालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पशु, तथा कानुन निर्माण र आन्तरिक आय वृद्धिका क्षेत्रमा गरेका उदाहरणीय कामको अनुसरण गर्ने लक्ष्यले भ्रमण अवलोकनमा गएको कनकासुन्दरी गाउँपालिकाका उपाध्यक्ष उर्मिला भण्डारीले बताइन् । उनका अनुसार आव २०७६÷०७७ मा अन्तरजिल्ला भ्रमणका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो । तर कोरोना महामारीका कारण गत वर्ष भ्रमण स्थगित भयो । तर यसपालि गाउँ समाजको विकासमा केही सुधार ल्याउने सोचले भ्रमणमा गएको उपाध्यक्ष भण्डारीको भनाइ छ ।

सात दिनका लागि गाउँपालिकाको कार्यबाहक अध्यक्षको जिम्मेवारी २ नम्बर वडाध्यक्ष शेरबहादुर रावतलाई दिइएको छ । २ नम्बर वडाध्यक्ष शेरबहादुर रावत भने आफ्नो सहमति बिना कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताउँछन् ।

उनले भने, “आफ्नै काममा व्यस्त रहेको र काम मलाई नदिनुभन्दा भन्दै नसोधी कार्यबाहकको पत्र घरमा पठाएका छन् । गत वर्ष कृषिको भ्रमणमा पनि गइन् । यसपालि पनि जनताको गुनासो आउने र अर्कोतर्फ भ्रमण गरेअनुसार काम गर्ने समय पनि धेरै नभएकाले भ्रमणमा जान उचित ठानिन । सहमतिबिनै कार्यबाहक अध्यक्षको जिम्मा भिराइएको छ । जनतालाई जसोतसो सेवा दिइरहेको छु ।” भ्रमण कहाँ कहाँ जाने, कहिले फर्किने भन्ने कुनै जानकारी नभएको उनले उल्लेख गरे ।

कार्यकाल सकिने बेला भ्रमणमा गएर गाउँठाउँको विकास निर्माण गर्छु भन्नुको औचित्य नरहेको नागरिक अगुवाको भनाइ छ । साढे चार वर्षको अवधिमा कति भ्रमण गरे तर केही नयाँपन देखिएन । तर कार्यकाल सकिन ३ महिनामात्रै बाँकी रहँदा भ्रमणमा गएर के उपलब्धि होला रु भ्रमण अवलोकन गरेर सुधारभन्दा राज्य कोषको दोहनमात्रै हुने गरेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

उनले भने, “भ्रमण जानु नराम्रो कुरा पनि हैन । साढे चार वर्षमा भ्रमण अवलोकनले हाम्रो गाउँठाउँको विकासमा कुनै सुधार आएन । कार्यकाल सकिने बेला भ्रमण गर्नुले उपलब्धि देखाउने भन्दा पनि छुट्याएको बजेट जसरी पनि खर्च गर्नुपर्छ भन्ने प्रवृत्ति देखियो । यस्तो राम्रो हैन ।” – कारोवारबाट