काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन्।
पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन्। एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरूको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए।
सोही भनाईलाई लक्षित गर्दै नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरित राष्ट्रियसभाको निर्वाचनमा पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गरे। उनले ओलीले देशभर एकसाथ जिल्लाहरूको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए।
‘जिल्लाजिल्लामा गरेको भए नेताहरु जाने, सम्बोधन गर्ने अवसर पाउने थिए र त्यसले नेतृत्व स्थापित हुने थियो। तर त्यो पद्धति ओली समूहमा छैन।’ नेपालले भने।
उनले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ताहरू नभएको दाबी पनि गरे। ओलीसँग देवत्वकरण गर्ने मानिसहरु मात्रै रहेको भन्दै नेपालले र अन्य मानिसहरु विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गराइरहेको दोहोर्याए।
अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताए। जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि नेपालले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।