कर्णालीका ४ प्रहरी कार्यालय अँझै लुम्बिनीमा, सुर्खेत सार्ने सुरसारै छैन

कर्णालीका तालिम प्राप्त कुकरले पनि लुम्बिनी प्रदेश हेर्नुपर्ने बाध्यता

सुर्खेत – कर्णाली प्रदेशमा स्थापना हुन्ुपर्ने ४ प्रहरी कार्यालय लुम्बिनी प्रदेशबाट संचालन हुदै आएका छन् । कर्णालीमा स्थापना भएर संचालनमा आउनुपर्ने कर्णांली प्रदेश प्रहरी तालिम केन्द्र, कर्णाली प्रदेश दंगा नियन्त्रण, प्रहरी गण, संघीय प्रहरी कार्यालय र अनुसन्धानका लागि कुकुर शाखा लुम्बिनीको बाँके जिल्लाबाट संचालन हुदै आएका हुन् ।

कर्णालीमा स्थापना हुनुपर्ने ४ प्रहरी कार्यालयमध्ये अनुसन्धानका लागि कुकुर शाखा बाँकेको कोहलपुरमा र अन्य ३ कार्यालय नेपालगंजबाट संचालन भइरहेका छन् । सुर्खेतको वीरेन्द्रनगरलाई राजधानी तोकेर प्रदेश सरकारको कामकाज भइरहेको छ । तर यी ४ प्रहरी कार्यालयलाई भने सुर्खेत फर्काउने कुनै सुरसारै छैन ।

भौतिक पूर्वाधारको अभाव देखाउँदै कर्णालीमा हुनुपर्ने प्रहरी कार्यालयहरु लुम्बिनीमा राखिएपछि सेवाग्राही र सेवाप्रदायकलाई दोहोरो झण्झट बढेको छ । भने सेवाग्राहीलाई कर्णालीबाट लुम्बिनी जानुपर्दा आर्थिक व्ययभार पनि बढ्दै गएको छ । कर्णालीमा हुनुपर्ने प्रहरी कार्यालय लुम्बिनीमा राखिएपछि अनुसन्धान ढिलाइ हुनुका साथै ठुला घटनामा प्रहरी परिचालन गर्न असहज भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली फर्काउने पहल

‘४ वटै प्रहरी कार्यालयलाई कर्णाली फर्काउनेबारे संघ तथा प्रदेश सरकारसँग निरन्तर पहल जारी छ’ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले भने, ‘तर पहल गर्दागर्दै सरकार र प्रहरी प्रमुख परिवर्तन हुन्छन् । नयाँ आउने प्रहरी प्रमुख, मन्त्री र सचिवले फेरी सुरुबाट प्रक्रिया थाल्नुपर्छ । यसले गर्दा पनि ती कार्यालय अँझै लुम्बिनीमै छन् ।’

कर्णांली प्रदेश प्रहरी तालिम केन्द्र, कर्णाली प्रदेश दंगा नियन्त्रण, प्रहरी गण र संघीय प्रहरी कार्यालय स्थापनाका लागि कर्णाली सरकारले अँझै जग्गाको टुंगो लगाउन सकेको छैन । भने प्रदेश प्रहरी कार्यालयमा अनुसन्धानका लागि कुकुर शाखा स्थापना हुन सकेको छैन । जसले गर्दा कर्णालीका जिल्ला प्रहरी कार्यालयले भर्ना लिएका जवानहरु महंगो खर्च तिरेर तालिमका लागि नेपालगंज पुग्छन् । भने कुनै ठुला घटनामा दंगा परिचालन गर्न कठिनाइ भएको छ ।

यता कुकुर शाखा स्थापना हुन नसकेपनि कर्णालीमा हुने घटना अनुसन्धानका लागि तालिम प्राप्त ७ वटा कुकुर छन् । तर ती कुकरले लुम्बिनी प्रदेशमा समेत हेर्नुपर्ने भएकाले हाल बाँकेको कोहलपुरमा राखिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । उनका अनुसार लुम्बिनीका लागि सरकारले छुट्टै कुकुरको व्यवस्था गर्नसाथ उक्त ७ टै कुकुर कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा फर्काउने तयारी छ । हाल उक्त कुकुरहरु कोहलपुरमा हुदाँ लुम्बिनी र कर्णालीमा एकैसाथ कुनै घटना घटेमा तत्काल अनुसन्धान गर्न असहज भएको छ ।

‘लुम्बिनीमा रहेका ४ वटै प्रहरी कार्यालय सुर्खेतमै स्थापना भएको भए सेवाग्राहीलाई समयको बचत तथा सहज हुन्थ्यो भने हामीलाई पनि अनुसन्धानमा छिटोछरितो तथा सहज हुन्थ्यो’ प्रहरी उपर श्रेष्ठले भने, ‘यी कार्यालय स्थापना भएमा सुर्खेतमा हजारौंको संख्यामा कर्मचारी थपिनेछन् । जसले कर्णालीको आर्थिक विकास हुन्थ्यो, भने यहाँको व्यापार पनि बढ्थ्यो ।’ तर सरकार परिवर्तन र मन्त्री बन्ने होडबाजीमा लागेका यहाँका नेताहरु र कार्यालय स्थापनाका लागि आवश्यक समन्वयकारी भूमिका खेल्नुपर्ने सरोकारवालाहरु भने यसबिषयमा मौन छन् ।