काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । यो समूहले यसलाई समीक्षा बैठक भनेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफूविरुद्धको मतलाई अपमान गरेर जान खोजेको निष्कर्षमा निकालेको समूहले यसबारे समीक्षा गर्न बैठक बोलाएको हो ।
समीक्षा बैठक बस्नु अगाडि मंगलबार यो समूहका नेताहरू अनुपम फुडल्यान्डमा छलफलमा जुटेका थिए । छलफलले सभापति देउवाले शेखर समूहलाई पेलेर जान खोजेको निष्कर्ष निकालेको थियो ।
छलफलमा सहभागी एक नेताकाअनुसार सभापति देउवाले राष्ट्रिय सभाको निर्वाचनका लागि टिकट वितरण गर्दा आफूहरूले पाएको जनमतलाई बेवास्ता गरेको विषयमा छलफल केन्द्रित थियो । छलफलले सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गर्दा पनि जनमतको अपहेलना गर्न खोजेको तथा शेखर समूहलाई पेलेर अघि बढेको निष्कर्ष निकालेको थियो ।
यसविषयमा थप छलफल र समीक्षा गर्न आज समीक्षा बैठक बोलाइएको नेता बलबहादुर केसीले जानकारी दिएका छन् ।
शेखर समूहले आज २ बजे समूहको बैठक बोलाएको छ । बैठकमा समूहबाट केन्द्रीय समितिमा चुनाव लडेका १३३ जनासहित समर्थकहरूलाई बोलाइएको छ । यो बैठकले महाधिवेशनको समीक्षा गर्दै भाबी रणनीति तय गर्ने केसीले जानकारी दिए ।