काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन् ।
अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेस गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औँल्याए ।
स्व. राजा वीरेन्द्र शाहको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दाबी गरे । देशलाई अरू देशको खतराबाट टार्न समेत राजसंस्था आवश्यक रहेको उनको भनाइ छ ।
उनले स्व. राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको पनि उल्लेख गरे । राजनीतिक दलका नेताहरूभन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने कुरालाई स्व. राजा वीरेन्द्रले प्रमाणित गरेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपीन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गरे । उनले स्व. राजा वीरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गरे ।