प्रदेश अस्पताललाई देशकै उत्कृष्ठ बनाउने प्रयत्नमा छु : डा. खड्का

अस्पतालमा बिरामीको चाप, १५० बेड क्षमता २५० बेडसम्म सञ्चालन

सुर्खेत – प्रविधिको विकाससँगै अत्याधुनिक स्वास्थ्य उपकरणसहित देशभर सरकारी तथा निजी क्षेत्रका अस्पतालबिच सेवा प्रवाहमा कडा प्रतिस्पर्धा भइरहेको देखिन्छ ।

सहज पहुँचदेखि सेवा प्रवाहमा छिटोछरितोका कारण पछिल्लो समय सेवाग्राहीको आकर्षण पनि निजी अस्पतालतर्फ नबढेको होइन । तर महंगो शुल्कसँगै अधिकांश सरकारी अस्पतालकै चिकित्सकले निजी अस्पतालमा सेवा दिने चलन बढेपछि सेवाग्राही पनि विस्तारै सरकारी अस्पताल नै रोज्न थालेका छन् । यसको गतिलो एक उदाहरण हो, कर्णाली प्रदेश अस्पताल सुर्खेत ।

हाल कर्णाली प्रदेश सरकारको मातहतमा रहेको यस अस्पतालमा सेवाग्राहीको दैनिक भिड लाग्छ । सुर्खेतमा निजी क्षेत्रबाट सञ्चालित अस्पतालले सेवा बढाउँदै गएपनि प्रदेश अस्पताल नै रोज्नेको जमात भने कम छैन ।

निजी क्षेत्रका अस्पताल भन्दा प्रदेश अस्पतालले गुणस्तरीय तथा छिटोछरितो सेवा प्रवाह गर्दा सेवाग्राहीका असन्तुष्टिहरु पनि हराउँदै गएका छन् । तथ्यांक अनुसार हाल दैनिक ६ सय जना बढि बिरामीले प्रदेश अस्पतालबाट सेवा लिएको पाइन्छ । सत्यपत्रिकासँग अस्पताल निर्देशक डा. डम्बर खड्काले भने, ‘सेवाग्राहीको माग र समस्याका आधारमा अस्पताल स्तरबृद्धि गरेका छौं । यो कर्णालीको मात्रै अब्बल अस्पताल होइन, अब देशकै उत्कृष्ठ सरकारी अस्पताल बनाउँछौं ।’

सरकारी अस्पतालप्रति नागरिकले हेर्ने दृष्टिकोण र सोच परिवर्तन भइसकेको भन्दै अस्पताल स्तरबृद्धिका लागि भौतिक संरचना तथा दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिएको उनको भनाइ छ ।
अस्पतालप्रति सेवाग्राहीको भरोशा

मानव विकास सुचांकमा पछि परेको कर्णाली प्रदेशका नागरिक विभिन्न प्रकारका रोगले पनि ग्रसित छन् । यहाँ नागरिकको सहज पहुँच पुग्ने गरी उपचार गर्ने भरपर्दो सरकारी अस्पताल पनि छैन । हाल प्रदेश अस्पतालले आँखा र मुटुको बाहेक अन्य सबै प्रकारका जटिल शल्यक्रिया गर्न थालेपछि अस्पतालप्रति कर्णालीवासीको भरोशा बढेको छ । अब कुनै प्रकारको ठुलो रोग लागेमा वा तत्काल जटिल प्रकारको शल्यक्रिया गर्नुपरेमा प्रदेश अस्पताल छदैछ भन्नेमा कर्णालीवासी ढुक्क छन् ।

हाल प्रदेश अस्पताल सुर्खेतबाट कर्णालीका १० वटै जिल्ला तथा अन्य प्रदेशका नागरिकले स्वास्थ्य सेवा लिइरहेका छन् । भने जटिल प्रकारको शल्यक्रियाका लागि अस्पतालमा दक्ष चिकित्सक तथा उपकरणको पनि व्यवस्था छ । अस्पतालका अनुसार २० वटा आइसियु तथा एनआइसियु सञ्चालनमा छन् । भने न्युरो आइसियु लगाएत थप एनआइसियुको व्यवस्था गर्ने तयारी छ ।

क्षमताभन्दा बढि बिरामी

हाल प्रदेश अस्पताल सुर्खेतले १ सय ५० बेड सञ्चालनको अनुमति पाएको छ । तर बिरामीको चापले गर्दा २ सय ५० बेड बराबरका बिरामी भर्ना गर्नुपर्ने बाध्यता छ ।

‘अस्पताल पुगेका बिरामीलाई सेवा नदिएर डिस्चार्ज गर्ने कुरै भएन । बिरामीको चापलाई मध्यनजर गरी हामीले २ सय ५० बेड बराबर सेवा सञ्चालन गरेका छौं’ अस्पताल निर्देशक डा. खड्काले भने, ‘ढाड र टाउकोको पनि शल्यक्रिया सेवा सुरु भएको छ । अब सर्ने टिबीका बिरामीलाई पनि भर्ना गरी उपचार गर्ने योजना छ ।’

उनका अनुसार क्षमताभन्दा बढि बिरामीलाई सेवा दिनुपर्दा जनशक्तिको अभाव देखिएको छ । दरबन्दि अनुसार जनशक्ति व्यवस्थापन नभएको बेला क्षमता भन्दा बढि बिरामी भर्ना लिदाँ उपचारमा सकस भएको हो । ‘हाल हामीसँग करिब १ सय ३७ जना स्वास्थ्य जनशक्ति र बजेट अभाव छ’ उनले भने ‘यसका लागि प्रदेश सरकारसँग पहल भइरहेको छ । चाँडै दरबन्दि पुर्ती भयो भने सेवा प्रवाहमा सहज हुनेथियो ।’

प्रदेश सरकारले जतिसक्दो चाँडो दरबन्दि पुर्ती गर्नुपर्ने भन्दै आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने डा. खड्काको माग छ । गुणस्तरीय सेवा प्रवाहमा देशकै उत्कृष्ठ सरकारी अस्पताल बनाउने योजनामा लागेको उनले बताए ।

सुचना दिनेलाई पुरस्कार

प्रदेश अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बजारका निजी अस्पतालमा पनि काम गर्दा सरकारी अस्पतालमा सेवाग्राही घटाएको आरोप लाग्न थालेपछि त्यस्ता चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यालय समयप्रति निगरानी बढाइएको छ ।

अनुशासनमा बलियो बनाउनुका साथै कर्मचारीलाई ड्युटीफुल बनाउन निगरानी गर्न थालिएको हो । यदी कोही कसै चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालमा आएका बिरामीलाई आफुले दिनसक्ने सेवा नदिएर निजी क्लिनिकमा सेवा लिन पठाएमा कारवाही गरिने डा. खड्काले बताए । कसैले यस्तो हर्कत गरेको खण्डमा थाहाँ पाएर सूचना दिनेलाई समेत पुरस्कृत र दोषिलाई कारवाही गरिने उनको भनाइ छ ।

अस्पतालमा उपलब्ध चिकित्सक र उपकरणको आधारमा बिरामीलाई सकेसम्मको सेवा दिने उनको योजना छ । हाल बिरामीको सहजताका लागि अस्पतालले सूचना प्रणालीलाई व्यवस्थित बनाएको छ । भने बिरामीलाई औषधि उपचारसँगै मेरिटेशनका कक्षा समेत दिइन्छ ।