शैक्षिक गुणस्तर सुधारका लागि खेलकुद आवश्यक : वसीउद्दीन खाँ


बुटवल – लुम्बिनी प्रदेशका शिक्षा,बिज्ञान,युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ ले अन्य सरकारी विद्यालयहरुले बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट पाठ सिकेर शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६१ औ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कालिका रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री खाँले उक्त कुरा बताएका हुन् ।

जिल्लाका अन्य विद्यालयहरुले पनि कालिकाबाट पाठ सिकेर विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नेतर्फ लाग्नुपर्ने बताउदै मन्त्री खाँले शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयहरुले ठोस योजना र प्रस्ताव लिएर आएमा प्रदेश सरकारले विद्यालयहरुलाई आवस्यक सहयोग गर्ने बताए । खेलकुदले मानिसलाई स्वस्थ र अनुशासित बनाउने र यस्तो व्यक्तिले मात्र शैक्षिक सफलता प्राप्त गर्न सक्ने भएकोले हरेक विद्यालयले खेलकुदलाई पनि शैक्षिक सुधारको माध्यम बनाउनुपर्ने कुरामा जोड दिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापा, खेल संयोजक हरिस वली लगायतले विद्यालयको शैक्षिक तथा खेल क्षेत्रमा भएका प्रगतिबारे जानकारी गराएका थिए । उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले सांगीतिक पिटी, ड्रिल र विभिन्न जानाजातिहरुको सास्कृतिक सास्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

विद्यालयले ६१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस जिल्ला स्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिता सहितका कार्यक्रम गरी सप्ताहब्यापी रुपमा मनाउन लागेको छ । प्रतियोगिता अन्तर्गत ज्यावलिङ थ्रो, लङजम्प, भलिबल, कबड्डि तथा एथलेटिक्स ट्याकतर्फ ८ सय, १ हजार ५ सय र ३ हजार मिटर गरि १६ ईभेन्टहरुमा खेलहरु हुनेछन् । प्रतियोगितामा ३० वटा विद्यालयका ४ सय ८० जना खेलाडीहरु सहभागी हुने खेल संयोजक हरिश ओलीले बताए ।

कुल १६ स्वर्ण पदक, १६ कास्य र १६ रजत पदकका लागि प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयासहित शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि दोस्रो टिमले ३० हजार नगद, तेस्रो टिमलाई नगद २० हजार रुपैया सहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

बार्षिकोत्सवकै अवसरमा खुल्ला ५ हजार मिटर दौड, कालिका गायनकला प्रतियोगिता, विज्ञान प्रविधि प्रर्दशनी लगायतका कार्यक्रम समेत आयोजना गरिएको छ । वार्षिकोत्सव कार्यक्रमको मूल समारोह पुष ६ गते राम नगर स्थित विद्यालयको सेक्टर २ मा तथा पुष ७ गते कालिका नगर स्थित सेक्टर १ मा र हुने उक्त समारोहमा विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुको साथै छात्रवृति वितरण, शिक्षक तथा पत्रकार सम्मान गरिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।