माओवादीको कर्णाली प्रदेश सम्मेलन सकियो, पदाधिकारीमा अझै सहमति जुटेन

अध्यक्षमा पूर्वमन्त्री विमला केसी र कर्ण बहादुर बुढाथोकीको दावी

सल्यान – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कर्णालीको प्रथम प्रदेश सम्मेलन प्रदेश कमिटी सदस्य घोषणा गर्दै सम्पन्न भएको छ।

शनिबारदेखि सुरु भएको समेलने नेतृत्व चयनमा सकस भएपछि दुई दिन ढिला गरी मंगलबार साँझमात्र सदस्य मात्र चयन गरी सम्पन्न भएको हो। नवनिर्वाचित प्रदेश समितिको बैठकबाट पदाधिकारी टुंगो लगाउने गरी सम्मेलन सम्पन्न भएको एक प्रदेश सदस्यले जानकारी दिए।

माओवादीले २ सय ११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेर पनि पदाधिकारीमा भने अझै सहमति जुट्न सकेको छैन। घोषित प्रदेश सदस्यबाटै अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष सहितका ९ पदाधिकारी चयनका लागि नवनिर्वाचित सदस्यहरूको बैठक बसिरहेको प्रदेश सदस्य निमबहादुर केसीले जानकारी दिए।

निर्वाचन मण्डलका अध्यक्ष रामदीप आचार्यका अनुसार रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९, कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० गरी २ सय ११ जना प्रदेश सदस्यमा चयन भएका छन्।

छानिएका प्रदेश सदस्यबाट अध्यक्षसहितका पदाधिकारी छानिने उनको भनाइ छ। माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ।​

अध्यक्षमा पूर्वमन्त्री विमला केसी र कर्ण बहादुर बुढाथोकीको दावी

यसअघि अध्यक्षको दावी गरेका महेन्द्रबहादुर शाही, वर्तमान अध्यक्ष राजकुमार शर्मा, टेकबहादुर बस्नेत, रामदीप आचार्य लगायतका नेता भने अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिएका छन्। केन्द्रीय सदस्यहरू प्रदेश पदाधिकारीमा बस्न नपाउने प्रावधान बनाएसँगै यसअघि अध्यक्षमा दावी गरेका नेताहरू स्वतः आउट भएका हुन्।

केन्द्रीय सदस्य पदाधिकारी आउन नपाउने भएपछि अध्यक्षमा सल्यानका कर्णबहादुर बुढाथोकी र रुकुम पश्चिमबाट विमला केसीको दावी रहेको छ। बुढाथोकी सल्यानका जिल्ला इन्चार्ज हुन् भने केसी कर्णाली प्रदेशकी पूर्वमन्त्री हुन्।

आठबुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। बन्द सत्रमा पेश गरिएको प्रस्ताव बहुमतले पारित गरेको हो।