सीएनएन । अहिले विश्वका सबैभन्दा धनीहरु अन्तरिक्षको दौडमा लागिरहँदा बिल गेट्सले चाहिँ अलगै धारणा व्यक्त गरेका छन् ।
टेस्लाका एलन मस्क र अमेजोनका बेजोस दुवैजना अन्तरिक्ष कम्पनी, स्पेसएक्स र ब्लु ओरिजिनका प्रमुख हुन् । र यतिबेला उनीहरु चन्द्रमामा अवतरण गर्ने मिसन लगायत विभिन्न स्पेस परियोजनाहरुमा जोडसँग लागिपरेका छन् । उनीहरु दुवै पृथ्वी बाहेक अन्य ग्रहमा पनि जीवन सम्भव छ भन्नेमा विश्वास गर्छन् ।
तर अर्का धनाढ्य बिल गेट्सले चाहिँ यस्ता अन्तरिक्ष सम्बन्धी परियोजनामा पैसा फालिरहेका छैनन् । विश्वका चौथो सबैभन्दा धनी, गेट्सले पृथ्वीमै अन्तरिक्ष भन्दा ठूला, थुप्रै लक्ष्यहरु पूरा गर्न बाँकी रहेको बताए । गेट्सले सीएनएनसँगको अन्र्तवार्ताामा बोल्दै पछिल्लो समय आफू अति सामान्य समस्याहरुमा अल्झिरहेको बताएका हुन् ।
उनले भने, “अन्तरिक्षको दौड भनेको प्रायः व्यवसायिक बजार नै हो । अफ्रिकाभर प्रभावकारी इन्टरनेट कनेक्सन हुनु भनेको धेरै राम्रो कुरा हो । स्याटलाइटमार्फत त्यहाँको कृषि अवस्था र जलवायु परिवर्तनबारे निगरानी गर्नु पनि राम्रो कुरा हो । तर ती गतिविधि ‘निस्वार्थ केही दिने’ सँग सम्बन्धित भएनन् ।
यसकारण म के आशा गर्दछु भने धनी मानिसहरुले ठूलो प्रभाव पार्ने किसिमले समाजलाई आफ्नो सम्पति फिर्ता गर्नेछन् । किनकी स्पष्ट रुपमा उनीहरुसँग अरु भन्दा बढी क्षमता छ । त्यसैले उनीहरुले आफू एक्लै सबै उपभोग गर्न सक्दैनन् या गर्नु हुँदैन पनि । ”
उनले थप भने, “जबसम्म हामीले मलेरिया, ट्युबरक्लोसिस (टीबी) लगायत गरिब मुलुकहरुमा भयावह अवस्था रहेका यस्ता रोगहरुबाट दुनियाँलाई पूर्ण मुक्त पार्दैनौँ तबसम्म मेरो पूरा ध्यान यसैमा मात्र केन्द्रित रहनेछ । ”
र वास्तवमै उनका प्रयासहरुले काम गरिसकेको छ । यसअघि आबुदाबीका राजकुमारले ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ सँगको सहकार्यमा अफ्रिकाको नाइजरलाई ‘ओन्कोसरसिआसिस’ नामक रोगबाट मुक्त गराएका हुन् । यस्तो सफलता हासिल गर्ने यो पहिलो अफ्रिकी मुलुक हो ।
यो रोग मानिसहरुमा किराको टोकाइबाट सर्ने गर्दछ र यसले सधैँभरका लागि व्यक्तिलाई अन्धो पारिदिन सक्छ । यो रोग लागेका ९९ प्रतिशत मानिसहरु अफ्रिकाका ३१ मुलुकमा रहेको विश्व स्वास्थ्य संगठनको डाटाले देखाउँछ ।
त्यसैले माइक्रोसफ्टका संस्थापक गेट्सले २०२२ को आफ्नो महत्वकांक्षा भनेको पोलियो पनि यसैगरी हटाउनु रहेको बताए । उनी भन्छन्, “यो मेरा लागि धेरै ठूलो र महत्वपूर्ण कुरा हो । यदि अफगानिस्तान स्थिर रहन सक्यो भने हामीले पोलियोलाई शून्यमा झार्न सक्नेछौँ । र हामीले यसमा २० वर्ष काम गरिसकेका छौँ । ”
तर यो काम गेट्सले सोचेजति सजिलो छैन । यसमा उनले धेरै चुनौतिहरुको सामना गर्नुपर्ने हुन्छ । गेट्सका अनुसार दुनियाँका अरु भूभागमा बस्ने मानिसहरुले यी रोग नदेखेकाले पनि यसको उपचारका लागि सुरु गरिएका परियोजनाहरुमा एकदमै कम लगानी भइरहेको छ ।
उनले भने, “हामीले साँच्चिकै अफ्रिकाको स्वास्थ्य क्षेत्रमा लगानी गर्न जरुरी छ । अनि मात्र त्यहाँका बच्चाहरु बाँच्न सक्छन् , पूरा पोषण पाउन सक्छन् र भविष्यमा राम्ररी शिक्षित भइ आफ्नो महादेशलाई माथि उठाउन सक्छन् । यसकारण हामी सधैँ सरकारहरु कहाँ गएर अझ धेरै दान गर्नेहरुलाई यसमा संलग्न गराउन अपील गरिरहेका छौँ । ”
दश वर्ष अगाडि बिल गेट्सले पूर्व पत्नी मेलिन्डा गेट्स र वारेन बफेटसँग मिलेर एउटा दान गर्ने प्रतिबद्धताको सुरुवात गराएका हुन् । उनीहरुले अमेरिकाका ४० सबैभन्दा धनी मानिसहरुलाई आफ्नो अधिकतम सम्पति विश्वका आपतकालीन समस्याहरुको समाधानमा खर्च गर्न प्रतिज्ञा गराएका हुन् ।