काठमाडौँ – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ । बैठकमै कुटाकुट हुँदा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन।
किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच हात हालाहाल भएको हो । कुटाकुटको क्रममा अध्यक्षका दुई दाँत भाँचिएको बैठकमा सहभागी एक वडाध्यक्षले बताए ।
गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै हात समाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले बताइन् । गाली गलौज गर्दै हात समाई साडी खोलिदिने भन्दै अभद्र व्यवहार गरेपछि प्रतिकार गरेकी हुँ, उपाध्यक्ष मण्डलले कान्तिपुरसँग भनिन्,आफ्नो इज्जत जोगाउन प्रतिकार गरेकी हुँ । त्यसक्रममा कता लाग्यो के भयो थाहा भएन ।
उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छन् । यस घटनाबारे अध्यक्ष मण्डलसँग सम्पर्क हुन सकेन ।
छिन्नमस्ता गाउँपालिकामा पछिल्लो २ आर्थिक वर्षदेखि गाउँसभा हुन नसक्दा विकास निर्माणका काम पनि ठप्प छन् । कर्मचारीले समेत महिनौंदेखि तलब खान पाएका थिएनन् । एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा भएको थियो ।
तर अध्यक्ष र उपाध्यक्षबीच बजेट वितरणलाई लिएर सार्वजनिक रुपमै विवाद हुँदै आएको छ । उक्त गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन् ।
तर उनीहरू दुवै हाल दुई अलग पार्टीमा पुगेका छन् । अहिले अध्यक्ष जसपामा छन् भने उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टीमा छिन् ।