काठमाडौं – जुम्लामा बिद्युत नियमित र व्यवस्थित गर्न दबाव दिन भन्दै जुम्लाका सर्वसाधारण र जनप्रतिनिधिले नेपाल बिद्युत प्राधिकरणमा धर्ना दिएका छन् ।
मंगलबार उनीहरूले प्राधिकरणको ध्यानाकर्षण गराउन भन्दै मौलिक सांस्कृतिक पहिचान झल्कने भेषभुषा र बाजा बजाएर धर्ना दिएका थिए । राष्ट्रिय प्रसारण लाइनलाई व्यवस्थित रूपमा विस्तार गर्नुपर्ने, उज्यालो नेपाल अभियानमा जुम्लाका सबै घरधुरीलाई समेट्नुपर्ने उनीहरूको माग छ ।
जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले जुम्लामा बिद्युत नियमित नभएको, मिटर तार लगायतका सामग्री प्राधिकरणले उपलब्ध नगराएको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएको बताए । कम जनसंख्या भएको स्थानलाई प्राधिकरणले प्राथमिकतामा नराखेको गुनासो उनले गरे ।
धर्नाका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छलफलमा बस्न आग्रह गरेपनि आफूहरूलाई उपेक्षा गरेको भन्दै धर्नामा सहभागीहरू बाहिरैबाट फर्किएका थिए । सो क्रममा घिसिङले जुम्लामा देखिएको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।