अफगानिस्तानमा दाउरा बेच्न प्रतिबन्ध

एजेन्सी – अफगानिस्तानमा तालिबानको इस्लामिकअमीरात (इमिरेट) सरकारले जंगल फाँड्न र दाउरा बेच्न प्रतिबन्ध लगाएको छ। तालिबानका शीर्ष प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारले दाउरा व्यापारलाई गैरकानुनी घोषणा गरेको जानकारी दिए। कसैले यो नियम उल्लंघन गरे कठोर सजाय दिइने पनि उनले स्पष्ट पारे।

मुजाहिदले ट्वीट गर्दै जंगल फाँड्नु, दाउरा बेच्नु र यसको कारोबार गर्नु अपराध भएकाले सुरक्षाकर्मी र अधिकारीले रोक्नुपर्ने माग गरेका छन्। अफगानिस्तानको कुल क्षेत्रफलको ५ प्रतिशत भूभागमा मात्र जंगल छ। अधिकांश वन देशको पूर्वी पहाडी क्षेत्र हिन्दुकुश क्षेत्रमा रहेको छ। यो जंगल पश्तुन रहेको क्षेत्रमा छ।

अफगानिस्तानमा खाना बनाउन ग्याँस र विद्युत्‌ प्रयोग कमै गरिन्छ। अत्यधिक अफगानी दाउरा र कोइलामा खाना पकाउँछन्। विदेशी प्रतिबन्धका कारण ग्याँस र मट्टीतेलको अभाव भएका वेला गरिएको यो प्रतिबन्धले समस्या बढ्ने अनुमान छ।

तालिबानले पश्तुनलाई खुशी पार्न यो नियम ल्याएको बताइएको छ। उनीहरूले जंगल बचाउनुपर्ने माग गर्दै आएका थिए।

-एजेन्सीको सहयोगमा