ताइवानमा १३ तले भवनमा आगलागी, कम्तीमा ४६ जनाको मृत्यु

एजेन्सी –  ताइवानको दक्षिणी क्षेत्रमा पर्ने काओह्सिंग शहरस्थित १३ तले भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको जलेर मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बिहीबार बिहानै आवासीय तथा व्यवसायिक प्रयोजनका लागि प्रयोग हुँदै आएको उक्त भवनमा आगलागी भएको समाचारमा उल्लेख छ ।

आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरुलाई चार घण्टाभन्दा बढी समय लागेको जनाइएको छ । अग्नि नियन्त्रण विभागका अधिकारीले दिएको जानकारी अनुसार ७९ जना अस्पताल भर्ना भएको र त्यसमध्ये १४ जनाको अवस्था गम्भीर रहेको बीबीसीले उल्लेख गरेको छ ।

४० वर्षअघि बनाइएको उक्त भवनमा भएको आगलागीको कारण खुलेको छैन । १२० अपार्टमेन्ट रहेको भवनमा बस्नेहरु वृद्ध र कुनै किसिमको अशक्तता रहेकाहरु रहेको जनाइएको छ ।