मुगुमा खाद्यान्न अभाव भएपछि ६ हजार क्विन्टल खाद्यान्न माग

मुगु – हिमाली जिल्ला मुगुमा ६ हजार क्विन्टल खाद्यान्न माग गरिएको छ । मुगु जिल्लामा रहेका खाद्यान्न तथा व्यापार कम्पनी शाखाको गोदाम र जिल्लामा रहेको खाद्यान्न डिपोहरुमा खाद्यान्न मौज्दात नभएपछि तत्कालको लागी जिल्लाको लागी ६ हजार क्विन्टल खाद्यान्न माग गरेको हो ।

जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हवाईमार्ग अर्थात् सडकमार्गबाट भएपनि छायानाथ रारा नगरपालिकामा २ हजार क्विन्टल, सोरुमा १५ सय, खत्याडमा १५ सय र मुगुमकार्मारोङ गाउपालिकामा १ हजार क्विन्टल खाद्यान्न तत्काल उपलब्ध गराउन माग गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।

वर्षाका कारण कर्णाली राजमार्ग धेरै ठाउमा अवरुद्ध भएकाले हवाइ मार्गबाट खाद्यान्न ढुवानी गर्नुको विकल्प बाहेक अन्य कुनै बिकल्प नरहेको छिटो भन्दा छिटो खाद्यान्न ढुवानीको व्यवस्था गरिदिनको लागी सरोकारवाला निकाय प्रदेश सरकार सबै ठाउँमा जानकारी गरिसकेको प्रजिअ निरौलाले जानकारी दिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुका अनुसार गत आर्थिक वर्षमा ढुवानी गरेको सबै चामल बिक्री गरि सकिएको छ भने यो आवको खाद्यान्न ढुवानी गर्ने प्रक्रियाअनुसार ठेक्काको प्रक्रियामा गएको छ ।

गमगढी बजारमा रहेको कम्पनीको शाखा कार्यालयमा रहेको गोदाममा ५ सय क्विन्टर चालु आर्थिक वर्षको खाद्यान्न मौज्दात रहेको छ । उक्त खाद्यान्न दैविक प्रकोप, आपत बिपत परेपछि मात्र बितरण गर्ने गरि गएको साउन महिनाको २८ गते बाट सर्बसाधारणहरुको लागी खाद्यान्न बितरणमा एक सार्वजनिक सुचना गरि बन्द गरिएका कम्पनीका प्रबन्धक कर्णबहादुर रावलले बताए । सावलका अनुसार मुगुुका ५ वटा खाद्य गोदाम रित्तिएका छन् ।