सुर्खेतमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

सुर्खेत – सुर्खेत जिल्ला प्रशासन कार्यालयले चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्र पारेको छ । नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमनका क्रममा उपभोग्य म्याद समाप्त भएका ३५ हजार रुपैयाँभन्दा बढीका सामग्री नष्ट गरेको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार अनुगमनका क्रममा मिन्टु मसला–१ पोका, दालमोट– ५९ पोका, नरिवल लड्डु–१५ जार, केक १४ ग्राम– ३२ प्याकेट, किप्स चिप्स–८७ प्याकेट, नागिन–६ पिस, दाल पिठो–३१ पोका, सुजि–३ पोका, काजु केक–४५ प्याकेट, कोल्ड ड्रिङ्स–५ दर्जन, चिउरा–१ पोका, चोखो बम–१ जार, केबी हिरो मिठाई–२ जार, क्रिम मिल्क–३ डिब्बा र हरियो मटर–५ पोका० नियन्त्रणमा लियर स्थानीय पालिकाका प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा जलाई नष्ट गरिएको छ ।

प्रशासनले मंगलबार र बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरसहित अन्य बजार क्षेत्रको अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘भेरीगंगा नगरपालिकाको छिन्चु बजारमा रहेको बराल इन्टरप्राइजेज र स्याङ्जा किराना पसललाई चामल विक्री वितरण गर्न रोक्का गरिएको छ ।’ उनका अनुसार गोदामबाट केही खाद्य बस्तुको नमुना संकलन गर्दा मेरो मयुर ब्राण्ड चामलमा उत्पादन मिति उल्लेख नभएको पाइएको थियो ।

प्रशासनले मंगलबार वीरेन्द्रनगरमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा मारेको थियो । उक्त, सप्लायर्सबाट झुम्का सुपर पावर सुर्ती २ सय ६१ पाउच, वल्व छाप सुर्ती १ सय ४८ पाउच अन्तशुल्क स्टिकर टाँस नभएको पाईएको थियो । उक्त, सामग्री छानविनका लागि नियन्त्रणमा लिइएको उनले बताए ।

अनुगमनका क्रममा विगतमा भएको अनुगमनमा दिइएका सुझाव कार्यान्वयन भए÷नभएको, मूल्य सूचि राखे÷नराखेको, पसल दर्ता, सामग्रीको व्यवस्थापन, खाद्य सामग्रीमा लेवल भए÷नभएको हेरेर मात्र विक्री वितरण गर्न सुझाव दिइएको प्रशासनको भनाइ छ ।