कोभिडविरुद्धको खोपको किन असमान वितरण ?

काठमाडौं –  सरकारले सन् २०२२ सम्ममा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइसक्ने घोषणा गरेको छ । यसअघि लक्षित समूह तोकेर खोप वितरण गर्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो अभियानदेखि १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिन थालेको छ । तर, जनसंख्याका आधारमा सबै प्रदेशमा खोपको समान वितरण नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

कुन प्रदेशमा कतिले लगाए खोप ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा असोज १३ गतेसम्म ६२ लाख ३८ हजार १ जनाले दुवै डोज अर्थात् पूर्ण खोप लगाएका छन् । यो संख्या खोप लक्षित ९१८ वर्षमाथिका २ करोड १७ लाख० मध्येको २८।७ प्रतिशत हो । त्यस्तै ७२ लाख १४ हजार ७४२ जनाले पहिलो डोज खोप लगाएका लगाएका छन्, जुन ३३।२ प्रतिशत हो ।

यसमध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा २३ लाख ४ हजार १९ जनाले पूर्ण खोप लगाएका छन् । त्यस्तै यो संख्या प्रदेश १ मा ७ लाख ५० हजार ३२८, प्रदेश २ मा ९ लाख २९ हजार ७५३, गण्डकी प्रदेशमा ६ लाख ११ हजार ६४०, लुम्बिनीमा ८ लाख ८६ हजार ६११, कर्णालीमा २ लाख ४७ हजार ८९१ र सुदूरपश्चिम प्रदेशमा ५ लाख ७ हजार ७५९ रहेको छ ।

त्यस्तै पहिलो डोज खोप लगाउनेको संख्या प्रदेश १ मा १० लाख ५६ हजार ३०२, प्रदेश २ मा १० लाख ६ हजार ९७६, वाग्मती प्रदेशमा २४ लाख ९५ हजार ६७५, गण्डकी प्रदेशमा ६ लाख ४६ हजार ३४, लुम्बिनीमा १० लाख ७१ हजार ७४९, कर्णालीमा ३ लाख २७ हजार ८२२ र सुदूरपश्चिम प्रदेशमा ६ लाख १० हजार १८४ रहेको छ ।

कोभिड खोप संघ केन्द्रित भएको हो ?
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचनामार्फत काठमाडौं उपत्यकामा ७३ प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएको जानकारी दियो । मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा लक्षित २१ लाख २९ हजार ७७३ जनामध्ये १६ लाख २२ हजार ४४१ जना अर्थात् ७६ प्रतिशतले पहिलो डोज र १५ लाख ६२ हजार ७३४ जना अर्थात् ७३ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

तर, काठमाडौंकै हाराहारीमा जनसंख्या रहेको प्रदेश २ मा जम्मा २० प्रतिशतले मात्रै कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यस्तै पहिलो र दोस्रो लहरमा कोभिड संक्रमण उच्च देखिएको गण्डकी प्रदेशमा पनि खोपको कभरेज तुलनात्मक रूपमा न्यून रहेको छ ।

यसले खोपको प्रदेशस्तरमा वितरणमा असमान भएको देखाउँछ भने उपत्यकासँगको तुलनामा खोप संघ केन्द्रित भएको पनि देखिन्छ । तर, खोपको उपलब्धता र प्राथमिकताका आधारमा खोप प्रदेशस्तरमा पठाउने गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख सागर दाहाल बताउँछन् ।

‘ग्रामीणभेगका नागरिकलाई खोप लगाउन चासो छैन’
वाग्मतीपछि दोस्रो धेरै जनसंख्या रहेको प्रदेश २ पनि खोपमा निकै पछाडि परेको देखिन्छ । प्रदेश २ मा पहिलो र दोस्रो डोज खोप लगाउनेको अन्तर धेरै छ । प्रदेशमा हालसम्म ३० प्रतिशत जनसंख्यालाई पुग्ने खोप आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। मुक्तिनारायण साह बताउँछन् ।

प्रदेश २ मा हालसम्म २० प्रतिशत लक्षित वर्गले खोप लिएका छन् । “पहिलो कुरा त हाम्रो प्रदेशमा खोप नै ढिलो आयो, त्यसमा पनि प्रदेशमा रहेको एउटा मात्रै रोफ्रिजेरेटर भ्यानले अन्य नियमित खोप र कोभिड खोप ढुवानी गर्न हम्मेहम्मे पर्छ । पछिल्लो समय खोपको कभरेज अलि बढेको छ, तर ग्रामीण क्षेत्रका नागरिकलाई खोप लिनेबारे खासै चासो छैन । सहरी क्षेत्रमा तछाडमछाड छ । तर, गाउँमा वास्ता नै छैन । यसले गर्दा हामी लक्षित संख्यामा पुग्न सकेका छैनौँ,” डा। साहले भने ।

तर, कर्णालीलगायत अन्य प्रदेशको अवस्था हेर्दा खोपको उपलब्धता नै कम भएको र खोपमा पनि ‘जसको शक्ति उसकै भक्ति’ लागु भएको विज्ञहरू बताउँछन् । –बाह्रखरी