सुर्खेत – सुर्खेतका व्यापारीहरुले दशैं, तिहार, छठजस्ता नेपालीका ठूला चाडपर्वहरुलाई लक्षित गरीसहुलियतको तयारी गरेका छन् । सुर्खेत उद्योग बाणिज्य संघले बुधवार विभिन्न वस्तुगत समितिहरुलाई बोलाएर छलफल गरेपछि सहुलियतको तयारी गरिएको हो ।
सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले चाडपर्वमा उपभोक्तालाई ध्यानमा दिएर सक्ने जति छुटको व्यवस्था मिलाउन आव्हान गरिएको बताएका छन । दशैंमा बढी खपत हुने खाद्यान्न, नुन, तेल, तरकारी, फेन्सी कपडा, फलफूल तथा माछामासुमा सक्ने गरी सहुलियत दिन संघले आग्रह गरेको छ ।
यस्तै अन्य पसलहरुले पनि उपभोक्तालाई राहत पुग्ने गरी आफ्नो क्षमता अनुसारको सहुलियत दिन भनिएको छ । ।
साथै उनीहरुले तरकारी बोकेका गाडीहरुलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने, विक्री नभएका सामानहरु फिर्ता नलिने जस्ता गुनासो समाधान गर्न संघलाई आग्रह गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयका दुर्गाप्रसाद आचार्यले म्याद नाघेका बस्तुहरु नबेच्न, कागजातहरु चुस्तदुरुस्त राख्न व्यापारीहरुलाई सुझाव दिए । प्रशासनले जुनसुकै बेला पनि अनुगमन गर्ने हुँदा व्यापारीहरुले आफ्ना सामानहरुको हरहिसावलगायत चुस्त राख्न आग्रह गरे ।
यस्तै संघले उपभोक्ताले देखिने गरी मूल्य सूची टाँस गर्न, आफ्ना किलाकाँटाहरु जाँच तथा नवीकरण गर्न, म्याद नाघेका बस्तुहरु हटाउन र सक्ने जति सहुलियत उपलव्ध गराउन आग्रह गरेको छ ।