काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले दसैँ, तिहार र छठलाई केन्द्रित गरेर सुरक्षा योजना लागु गरेको छ । चाडपर्वमा हुने अपराधका घटना न्यूनीकरण गर्न प्रहरीले घरधनीहरुलाई डेरामा बस्ने र घरमा काम गर्नेहरुको फोटोसहितको विवरण राख्न सार्वजनिक सूचना जारी गरेको छ।
अपराधका सूचना दिन १९ बुँदे ‘अनुरोध पत्र’ सार्वजनिक गर्दै काठमाडौं प्रहरीले दसैँ, तिहारको सुरक्षाका लागि ३३ सय सुरक्षाकर्मी परिचालन गरेको छ । काठमाडौं छाड्ने र विदेशबाट घर फर्किनेहरुको सहजताका लागि काठमाडौंका ९ ठाउँमा हेल्प डेस्क राखिएको काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।
उनका अनुसार सुन्धारा, गौशाला, चावहिल चोक, नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी र बालाजुमा हेल्प डेस्क राखिएको छ । सार्वजनिक सवारीमा यात्रीसँग बढी भाडा लिएमा र व्यवस्थापनमा लापरवाही गरेमा यात्रीले हेल्प डेस्कमा सम्पर्क गर्न सक्नेछन् ।
जुवातास, व्यापारिक केन्द्रमा हुने लुटपाट र चोरी नियन्त्रणका लागि काठमाडौंमा सादा पोशाकमा प्रहरीको ३८ वटा टोली परिचालन गरिएको छ । खसी र कुखुरा किनबेच हुने ठाउँको सुरक्षाका लागि प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ ।
‘चाडपर्वमा हुने लुटपाट र गुण्डागर्दी पूर्ण रुपमा नियन्त्रण हुनेगरी सुरक्षा योजना लागु गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सिंहले भने, ‘लाखौं मानिस उपत्यका छाडेर बाहिर जाने र दसैँ, तिहारमा आर्थिक गतिविधि पनि धेरै हुने हुनाले अप्रिय घटना हुनबाट रोक्नेगरी सुरक्षा योजना लागु गरेका छौं ।’
दसैँ, तिहार र छठको बेला मन्दिरमा भिड हुने हुनाले काठमाडौंका मुख्य १२ वटा मन्दिरमा प्रहरीले निगरानी बढाएको छ । काठमाडौंका गुम्बा आसपासको क्षेत्रमा पनि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । त्यस्तै, कोटेश्वर, बल्खु र चावहिल लगायत ११ ठाउँका टिकट काउन्टरमा पनि प्रहरीले निगरानी बढाएको छ । उपत्यका छाड्ने यात्रीका लागि टिकटको नियमित बेचविखन भए÷नभएको प्रहरीले निगरानी गरिरहेको छ ।
एटिएम बुथमा निगरानी
कोभिड–१९ संक्रमणको जोखिमका कारण चाडपर्वमा स्वास्थ्य प्रोटोकल पालना नगर्नेहरुलाई प्रहरीले कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ । गहना पसल, सपिङ मल र एटिएम बुथ आसपासमा लुटपाट हुनसक्ने सुरक्षा विश्लेषणका साथ त्यस्ता ठाउँमा निगरानी गर्नेगरी सुरक्षा योजना लागु गरिएको प्रहरीको भनाइ छ ।
काठमाडौंमा घर खाली गरेर दसैँ, तिहार मनाउन पुर्ख्यौली थातथलो जानेहरुको विवरण तयार गरेर त्यस्ता घर केन्द्रित पैदल गस्ती र चेकजाँच गरिने सुरक्षा योजना प्रहरीले सार्वजनिक गरेको छ ।
काठमाडौं जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर दसैँ, तिहारमा बिदा हुँदा त्यहाँ बस्ने सुरक्षागार्डको विवरणसमेत लिएर चेकजाँचको व्यवस्था गरिने प्रहरी परिसर काठमाडौंले जनाएको छ । उपत्यका प्रवेश गर्ने नाकाहरुमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरेर चेकजाँच गर्ने योजना प्रहरीले लागु गरेको छ । नयाँ सुरक्षा योजना लागु भइसकेको र छठसम्म जारी रहने एसएसपी सिंहले रातोपाटीलाई बताए ।