एमालेको लगातारको अवरोधपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । यसबीचमा सभामुख अग्नि सापकोटाले सहमति जुटाएर प्रतिनिधिसभा बैठक सहज ढंगले सञ्चालनको प्रयास गर्नेछन् ।

एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै बुधबार दुई पटकसम्म संसद अवरुद्ध पारेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोलेलगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी समेत गरेका थिए।