सभामुख सापकोटालाई दल विभाजनको मतियार बनेको आरोप

काठमाडौं – नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पार्टी विभाजनको मतियार बनेको आरोप लगाएको छ।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै अवरोध गरेर एमालेको प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले भदौ १ गते १४ जना सांसदलाई कारबाही गर्न पाउने भनेर सभामुखलाई टेबुलमा पुर्याएको थियौँ। तर, सभामुखले सुचना टाँस गर्नुभएन। पुरानो नजिरलाई हेर्दा यसअघिको सांसदलाई उहाँले २४ घण्टा नबित्दै सूचना टाँस गर्नुभएको थियो।’

बैठकमा उनले माओवादी र जसपालाई लागू हुने नियम एमालेलाई नहुने होरु भन्दै प्रश्न गरेका छन्।

सचेतक भट्टराईले भने, ‘हामीले पटक- पटक पहल गरेका थियौँ। तर, हाम्रो दलको संसदीय दलको उपनेता सुवास नेम्वाङले उहाँलाई पटक-पटक फोन गर्नुभएको थियो। तर, उहाँले १३ दिनपछि केही गर्न नपर्ने भन्ने भन्ने खबर गर्नुभयो।’

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजनको लागि सभामुखले सहयोगीको भूमिका निर्वाह गरेका आरोप लगाएका छन्।

‘निर्वाचन आयोगलाई हामीले १० केन्द्रीय सदस्यलाई कारबाही गरेको सूचना पठाएका थियौँ। तर, एमाले विभाजनको लागि षड्यन्त्र भयो। अहिले त्यो सर्वोच्च अदालतसम्म पुगेको छ। त्यसको जवाफ पूरा नभएसम्म हामी सदनको काम अगाडि बढाउन सक्दैनौँ’ भट्टराईले भने।

एमालेले चर्को विरोध गर्दै संसद् बैठक अवरुद्ध गरेको छ। एमाले सांसदहरुले संसद बैठकमै सभामुखविरुद्ध मूर्दावादको नारासमेत लगाए।

सभामुखले सदनको मानमर्यादा कायम राख्‍न र संसदको नियमावलीप्रति पटक(पटक सचेत गराएका थिए। तर, एमाले सांसदहरूले लगातार नाराबाजी गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

आजको बैठकमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुनुका साथै शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको थियो।