काठमाडौँ -सरकारले परीक्षा सञ्चालनका लागि अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्ने तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले बताएका छन
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अनुमति पाएलगत्तै परीक्षा लिन तयारी अवस्थामा रहेको कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीले पूर्णरूपमा खोप लगाउन पाएको अवस्थामा परीक्षा निर्वाध रूपमा सञ्चालन हुनसक्ने विश्वास आफूहरूमा रहेको उहाँको भनाइ छ ।
परीक्षाको अनुमति पाएपछि १५ दिनको सूचना दिएर परीक्षाको कार्यतालिका निकाल्ने योजना बोर्डले बनाएको छ ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमै सञ्चालन गर्न शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको अवस्थामा आफूहरू भौतिक रूपमै परीक्षा लिने योजनामा रहेको उहाँले जानकारी दिनुभयो ।