हुम्ला – हुम्लामा नेपाल टेलिकमको फोरजी टावर निर्माण गर्नका लागि हिमालपारिको गाउँ लिमीमा सामानहरु हेलिकोप्टरबाट ढुवानी गरिएको छ ।
सडक सुचारु नभएको कारण पैदल मार्गबाट सामान ढुवानी हुन नसक्ने भएको कारण महङ्गो हवाई ढुवानी गरेर सामान हेलिकोप्टरबाट ओसारिएको हो ।
नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङले निर्माण सम्झौता भएको पाँच वर्षपछि निर्माण हुन लागेको नेपाल टेलिकमको टावरका सामान हेलिकोप्टरबाट ढुवानी भएको बताउनुभयो । हेलिकोप्टरबाट सामान ढुवानी भएसँगै अब टावर निर्माणको बाटो खुलेको छ । उहाँले लिमीसम्म सडक निर्माण भएको भए पनि हाल सुचारु नभएको कारण भरियाले बोकेर लिन सम्भव नहुँदा महँगो हवाई ढुवानी गरेर हेलिकोप्टरमा उक्त सामान ओसार्नुपरेको बताउनुभयो । लिमीको हल्जी गाउँको हेलिप्याडसम्म हेलिकोप्टरबाट सामान ढुवानी भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले दुई वटा हेलिकोप्टरबाट आठ वटा उडान भरेर सामान लिमी ओसारिएको बताउनुभयो । उहाँले दुई दिन लगाएर हेलिकोप्टरमा सामान झुण्ड्याएर लगिएको बताउनुभयो ।
हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीमा नेपाल टेलिकमको फोरजी टावर निर्माणका लागि हेलिकोप्टरबाट सामान ढुवानी गरिएको छ । लिमीमा फोरजी टावर निर्माणका लागी हेलिकोप्टरबाट सामान ढुवानी गरिएको हो । टावर निर्माणका लागी सामान सहज ढुवानी गर्ने सकिने अवस्था नरहेका कारण बढी तौल भएका सामग्री हेलिकप्टर मार्फत ढुवानी गरिएको हो । टावरलाई आवश्यक पर्ने पावरका लागि सोलार सिस्टमका उपकरणहरु हेलिकोप्टर मार्फत ढुवाaनी गरिएको हो । टावर लिमीका तिल र हल्जि गाउँ नजिकमा पर्ने अरुला डाँडामा टावर निर्माण गर्न लागिएको हो । निर्माण कम्पनीबाट टावर निर्माण हुन लागेको हो भने हेलिकोप्टरको सामान ढुवानी खर्च निर्माण कम्पनी र गाउँपालिकाले तिर्नेछन् । हेलिकोप्टर चाटर गरेर उडान भरिएको हो । सामान हेलिकोप्टरबाट ढुवानी भएपछि निर्माण कम्पनीबाट दुई जना प्राविधिक पनि लिमीतर्फ लाग्नु भएको छ । टावरको निर्माण पछि लिमीका तिन वटै गाउँ सञ्चार पहुँचमा जोडिने छन् । नाम्खाको लिमी भ्याली पर्यटकीय गन्तव्यका लागी जिल्लाकै उत्कृष्ट मानिँदै आएको छ ।
#गोरखापत्र