कर्णाली प्रदेशमा एमालेका तीन जना सांसदले नेकपा समाजवादीका पक्षमा सनाखत गराए

 

सुर्खेत – कर्णाली प्रदेशसभाका तीन जना एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका छन् । प्रदेशसभा सदस्य देवी ओली रुकुमपश्चिम, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादीका पक्षमा निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन् ।

 

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा समेत रहेका छन् । प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षमा ९ सांसद खुलेका थिए । जसमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढालाई एमालेले कारबाही गरेको थियो । एमालेका कारवाहीमा उनीहरु चारैजना अहिले नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीमा छन् ।

एमालेको आन्तरिक विवादको समयमा माधवकुमार नेपाललाई साथ दिँदै आएका सुशील थापा, दल रावल र करवीर शाही भने एमालेमै रहने भएका छन् ।