कर्णाली प्राविधिक शिक्षालयलाई ‘डिप्लोमा इन फार्मेसी’को अनुमति

जुम्ला- नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा यो बर्ष देखि डिप्लोमा इन फार्मेसी पढाइ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले डिप्लोमा इन फार्मेसी पठनपाठनका लागि अनुमति प्रदान गरे संगै यहाँ पढाइ हुने भएको हो ।

डिप्लोमा इन फार्मेसी अध्ययनका लागि कर्णालीका विद्यार्थी महंगो तिरेर पढ्न बाध्य थिए । अब कर्णालीमै पहिलो पटक पढाइ हुन थालेपछि निकै उत्साहित छन् । कर्णाली प्राविधिक शिक्षालयका प्रमुख आशा कुमारी श्रेष्ठ डिप्लोमा इन फार्मेसी पढ्न तराइका जिल्लामा जानु पर्ने बाध्यता हटेको बताउँछिन् । उनले भनिन्,‘अब सस्तो, सुलभ र गुणस्तरीय रुपमा जुम्लामै डिप्लोमा इन फार्मेसीको पठनपाठन हुनेछ । यो समग्र कर्णालीको लागि निकै सुखद खबर हो ।’

यो तीन बर्षे कोर्ष हुनेछ । कर्णाली प्राविधिक शिक्षालय २०३७ सालमा स्थापना भएको थियो । टेस्टपास एसएलसी देखि डिप्लोमा तह सम्मको शैक्षिक कार्यक्रम चलिरहेको छ । शिक्षालय प्रमुख श्रेष्ठ भन्छिन्,‘तीन बर्षमा ९५ हजार ६ सय ६० रुपैयाँ सम्म खर्च हुनेदेखिन्छ । यो कर्णालीका विद्यार्थीका लागि निकै सस्तो शिक्षा हुनेछ । ’

डिप्लोमा इन फार्मेसीका लागि ४० वटा कोटा निर्धारण गरिएको छ । जसमध्ये जुम्लाको लागि ४ जना, कर्णाली प्रदेशका ९ वटा जिल्लाबाट २/२ जना हुनेछन् । ४ जनाले छात्रवृत्तिमा शिक्षा आर्जन गर्न पाउनेछन् । १४ सिट समानुपातिक ढंगबाट भर्ना गरिने छ ।

कर्णाली प्राविधिक शिक्षालयमा पहिलो पटक डिप्लोमा इन फार्मेसी पढाई सञ्चालन हुन थालेपछि कर्णालीबासी खुसि छन् । यो शिक्षालयबाट दुर्गम क्षेत्रका पिछडिएका बर्गलाई निकै लाभ प्राप्त भइरहेको छ । यहाँ अध्यययन गरेका ९५ प्रतिशत विद्यार्थी सरकारी जागिरे छन् । केहीले आफ्नो पेशा व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन् ।

डिप्लोमा इन फार्मेसी विषयको पढाई हुने भएकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क गर्न शिक्षालयले आग्रह गरेको छ । प्राविधिक शिक्षालयले टेस्टपास एसएलसी अन्तर्गत कृषि, निर्माण, अनमी र सिएमए तथा डिल्पोमा तह अन्तर्गत ओभरसियर, आईएस्सीएजी र फरेस्ट्री कार्यक्रम सचालनमा छ ।

लाखौँ रकम खर्चेर महंगा कलेजमा गएर प्राविधिक विषय अध्ययन गर्नबाट विद्यार्थीलाई राहत मिल्यो, शिक्षालय प्रमुख श्रेष्ठले भनिन्,‘यो प्राविधिक शिक्षालय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्योग जस्तै बनेको छ । यहाँको जनशक्ति देशभर छरिएर सेवा गरिरहेको छ । यो कर्णालीका लागि सकरात्मक पक्ष हो ।’

कर्णाली प्राविधिक शिक्षालय शैक्षिक हब मात्र बनिरहेको छैन् । सदरमुकाम खलंगा पुग्ने जो सुकैले एक पटक प्राविधिक शिक्षालयको अवलोकन गर्ने गरेका छन् । यसले पर्यटन प्रवद्र्धनलाई समेत टेवा पर्याएको छ । कर्णाली प्राविधिक शिक्षालयमा सञ्चालन हुन थालेको डिप्लोमा इन फार्मेसीको पठनपाठन निकै अनुशासित र व्यवस्थित बनाउँदै लैजाने कर्णाली प्राविधिक शिक्षालय जुम्लाले जनाएको छ ।