राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । १०१ बर्षको उमेरमा उनको निधन भएको हो |

माधवप्रसाद घिमिरेकाे जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् । उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन् |

प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन् । उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए । उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर (किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन् ।

जन्मिएको तीन वर्षमा उनकी आमा बितिन । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन् ।स्व. घिमिरे प्रति क्वीकखबर हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।