फिल्म निर्देशक आचार्यले दिए महिला कैदी बन्दीलाई तीजको कोसेली

काठमाडौं – फिल्म निर्देशक ऋषिराज आचार्यले केन्द्रीय कारागार सुन्धारामा रहेका ३६० महिला कैदी बन्दीलाई तीजको कोसेली स्वरूप विभिन्न सामाग्री राहतको रुपमा वितरण गरेका छन् । जेलमा रहेका महिलाहरुलाई पनि तीज आउँछ । उनीहरुका लागि तीजका सामान आवश्यकता पर्छ भन्ने सोचका साथ उनले राहत बितरण गरेका हुन् ।

समाजसेवी इन्दिरा राना मगरको संयोजकत्वमा उनले जेलमै पुगेर ३६० महिलालाई चुरा, काँटा, टीकालगायतका तीजका लागि आवश्यक बिभिन्न सामग्रीहरु बितरण गरेका हुन् । आफ्नो कारण उनीहरुले थोरै भएपनि खुशी महसुस गर्न सकुन् भनेर सामान लिएर जेल पुगेको निर्देशक आचार्यले बताए ।

‘जेलमा रहेका कैदी बन्दीका कोही आफन्त भेट्न आउँछन् होला कोहीका आउँदैनन्’ आचार्यले भने, ‘उनीहरुलाई आफन्त साथीभाई चाडपर्व आउँदा त झनै महत्व हुन्छ ।’ कोरोनाका कारण लकडाउन र निषेधाज्ञाको समय समेत विभिन्न खाद्यान्न वितरण गरेका आचार्य समाजसेवाका विषयमा मिडियामा नआओस् भन्नेर चुपचुप समाजसेवा गर्दै आएका छन् ।

आचार्यको निर्देशन रहेको पछिल्लो चलचित्र ‘चुरीफुरी’ अहिले पोष्ट प्रोडक्सनमा रहेको छ । फिल्म हल खेल्ने बित्तिकै चलचित्र प्रदर्शनमा ल्याउने उनको योजना रहेको छ ।